हत्या भएकी नर्स चन्द्रिकाकी प्रेमी भनिएका दास मृत फेला
घटना मोड्न अर्को प्रेमीको नाममा ह्वाट्सप प्रयोग
बिर्तामोड । केहि दिन अघि विराटनगर महानगरपालिका–४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी भनिएका शिवशंकर दासपनि मृत अवस्थामा भेटिएका छन् ।
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ ।
नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । उनी विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा केही महिनाअघि मात्रै डेरा सरेकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो ।
चन्द्रिका कुमारीका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनी २६ फागुनमा काठमाण्डौ आएका थिए । काठमाण्डौबाट उनी सिराहास्थित घर नगई सिधै विराटनगरमा आए । २९ फागुनमा विराटनगर आएका उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो ।
बिहीबार दिउँसो शिवशंकरले चन्द्रिकाको हत्या गरे । चन्द्रिकाको शव बाथरुममा राखेर फोटो खिचे । त्यसपछि आफ्नो सुटकेश लिएर निस्किए । कोठाबाट निस्किंदा उनले कोठाको चाबी छेउको अर्को कोठामा बस्ने चन्द्रिकाको साथीलाई दिएका थिए । उनको फोन नम्बर पनि लिए । चाबी दिंदै गर्दा उनले चन्द्रिका जोगबनी गएको बताएका थिए । तर, उनी बेलुकासम्म आइनन् । साथीले अन्त कतै गएकी होलिन् भन्ने सोचे ।
शुक्रबार दिउँसो चन्द्रिकाको साथीको ह्वाट्सएप नम्बरमा नयाँ नम्बरबाट चन्द्रिकाको हत्या गरिदिएको भन्दै रगतले लतपतिएको फोटो आयो । दासका साथीले घरबेटीलाई खबर गरे । घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
घटना मोड्न अर्को प्रेमीको नाममा ह्वाट्सप प्रयोग
प्रहरीका अनुसार हृवाटसपमा म्यासेज गर्ने नम्बरमा अमिन धानुक नाम लेखिएको थियो । धानुक पनि मृतकका प्रेमी हुन् । धानुकको नाम देखिएपछि प्रहरी अनुसन्धान उतैतिर डाइभर्ट भयो । तर, सो नम्बर धानुकसँग रहेको देखिएन । विदेशबाट फर्किएका शिवशंकरको नाममा सिम देखियो । सो नम्बर उनले हृवाटसप खोल्दा अमिन धानुक नाम लेखेको प्रहरीले बताएको छ । घटना डाइभर्ट गर्न अर्कै व्यक्तिको नाम लेखेको देखिएको डिएसपी दाहालले बताए ।
मोबाइल अफ भएको नम्बर पछ्याउँदै प्रहरीले घटना अनुसन्धान गरिरहेको थियो । ‘बेला–बेला अन हुने नम्बर हिजो दिउँसो कञ्चनबारी आसपास देखियो, त्यसपछि प्रहरी टोलीले होटलहरुमा सर्च र्गयो,’ डिएसपी दाहालले भने, ‘राति फाइन होटलमा झुण्डिएको अवस्थामा शव भेटियो ।’
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार शिवशंकर र चन्द्रिकाबीच केही वर्ष अघिदेखि प्रेम सम्बन्ध देखिन्छ । तर, शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
डिएसपी दाहालका अनुसार आइतबार दिउँसो शिवशंकरले घरमा पनि सम्पर्क गरेका थिए । फोनमा उनले फ्रस्टेसन भएको बताएका थिए । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
शव भेटिएको होटलमा शिवशंकर आइतबार दिउँसो पुगेका थिए । त्यसअघि कहाँ बसे भन्ने नखुलेको डिएसपी दाहालले बताए । ‘चन्द्रिकाको हत्यापछि सुटकेश लिएर निस्किएका उनी कहाँ–कहाँ बसे भन्ने खुलेको छैन । शव भेटिएको होटलमा दिउँसो मात्रै पुगेका थिए,’ डिएसपी दाहालले भने, ‘परिवारका सदस्यलाई पनि फोन गरेपछि बेलुका सुसाइड गरेको हुनसक्छ ।’