हजुरआमाको हत्या गरी गाड्ने नातिसहित चार पक्राउ
बिर्तामोड । झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।
झापा गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । घटना फागुन २५ गते शिवरात्रिको मध्यरातको हो ।
लागुऔषध सेवन गरेका धिरजले वृद्धा हजुरआमा नरमायाको टाउकामो रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए । हत्या पश्चात् उनको शव ग्वालीमा लगेर पुरेका थिए । पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले आज बिहान प्रहरीमा उजुरी दिएका थिए ।
‘प्रहरीमा उजुरी परे लगतै अनुसन्धान गर्दै जाँदा उनको हत्या भइसकेको र शव ग्वालीमा गाडिएको अवस्थामा फेला र्पयो,’ एसपी केसीले भने ।
नाति धिरजले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको बताउँदै एसपी केसीले भने, ‘धिरजले सो घटनामा अन्य तीन जना साथी पनि संलग्न रहेको भन्यो ।’ सोही अनुसार उनका साथीहरु टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई पनि नियन्त्रणमा लिएको उनको भनाई छ । शिवरात्रिका दिन लागुऔषध सेवन गरी धिरज पैसा माग्न हजुरआमालाई भेट्न घर पुगेका थिए । घरमा अरू कोही सदस्य नभएको बेला हजुरआमासँग पैसाको विषयमा विवाद भएको र धिरजले नशाको झोकमा हजुरआमाको हत्या गरेको हुन सक्ने अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।