मे मसान्तपछि आप्रवासी कामदार नलैजाने मलेसियाको निर्णय
झापा । मलेसिया सरकारले आगामी मे मसान्तपछि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । श्रम बजारमा आप्रवासी श्रमिकको सङ्ख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो ।
मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्राउन भनेको छ ।
गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको सङ्ख्यालाई नियन्त्रण गर्न चाहेको बताए । ‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ, त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरूलाई आप्रवासी कामदार भित्राउनका लागि मे ३१ सम्मको समय दिइएको छ,’ उनले भने ।
मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ । सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ । तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये नेपालीहरू मात्रै ५ लाख हाराहारीमा छन् ।
मलेसियामा अहिले कम्पनीहरूले ओभरटाइम नदिएका कारण आप्रवासी कामदारको आकर्षण समेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्र समेत परिरहेका छन् ।
०७५ सालयता नेपालबाट शून्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीहरूलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।
मलेसिया जाने अधिकांश नेपालीले फ्याक्ट्री वर्कर र सेक्युरिटी गार्डको काम गर्ने गरेका छन् ।