झापा गोल्ड कप : चर्च ब्वाइज फाइनल प्रवेश
बिर्तामोड । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटको खेलमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको थियो ।
पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन् । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदिप लिम्बूले बचाए ।
झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाएका थिए ।
खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।