झापा गोल्डकपमा एपीएफको विजयी सुरुवात
बिर्तामोड । अर्ना छैटौं झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ। संकटा फुटबल क्लब र एपीएफ फुटबल क्लब बीच भएको उद्घाटन खेलमा टाइब्रेकरमा एपीएफ विजयी भएको हो ।
टाइब्रेकरमा संकटा क्लबलाई ४-२ गोल अन्तरले हराउँदै एपीएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोल नगरेपछि टाइब्रेकरबाट खेलको निर्णय लिएको थियो । टाइब्रेकरमा संकटाका अजित लामाको प्रहार विपक्षी अञ्जल श्रेष्ठले बचाए । संकटाका मौसम सुब्बाको प्रहार पोस्टमा लागेर फर्कियो ।
एपीएफका सुमन श्रेष्ठ, कुलदीप कार्की, फोडे फोफोना र दिपेश धिमालले गोल गरे । संकटाका यमनबहादुर पुटवर र चन्दन दासले मात्र टाइब्रेकरमा गोल गरे ।
दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल खेलेका थिए ।
पहिलो खेलको म्यान अफ दि म्याच एपीएफका गोलकिपर एञ्जल श्रेष्ठ घोषित भए ।
झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाखसहित आकर्षक ट्रफी पाउनेछन ।