प्रविधिमैत्री पत्रकारिता तालिम सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुका लागि प्रविधिमैत्री पत्रकारिता तालिम सञ्चालन गरिएको छ । साझामञ्च डटकमको मातृसंस्था साझा मञ्च मिडिया प्रालिको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
प्रविधिमैत्री शिक्षक समाज नेपालका सदस्य घनश्याम अधिकारीको सहजीकरणमा बिर्तामोडमा उक्त तालिम सञ्चालन गरिएको हो । एन्ड्रोइड भर्सनको मोवाइल हुने जो कोही पत्रकारलाई प्रविधिमा जोडिएर पत्रकारिता गर्न सहज हुने विषयमा अधिकारीले सहजीकरण गरेका थिए ।
मोवाइल जर्नालिजम (मोजो)को तालिममा सिकाइने सीपभन्दा थप धेरै विधाहरु समेटेर सहजकर्ता अधिकारीले सहभागीहरुलाई प्रविधिमैत्री बन्न सक्ने मानिसमात्र आजको पत्रकारितामा टिक्नसक्ने भन्दै व्यवहारिक ज्ञान प्रवाह गरेका छन् ।
बिर्तामोडस्थित शिक्षा बहुउद्देश्य सहकारी संस्थाको सभाहलमा आयोजित तालिममा सहभागी पत्रकारहरुले आजको दिनलाई एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको बताए ।
कार्यक्रमको अनुभव आदानप्रदानमा बोल्दै अग्रज पत्रकार मोहनकाजीले उमेरले आधा शताब्दी टेके पनि यो तालिमबाट ३० वर्षभन्दा कम भएको जस्तो महसुस गराएको बताए । ‘निर्धारित समय छोटो भएकोले सिक्ने चाहना हुँदाहुँदै आज रोकिनु पर्यो, अब केही दिनभित्रै दिनभरको समय छुट्याएर सीप ग्रहण गर्ने चाहना बढेर आएको छ,’ उनले भने ।
यस्तै अर्का सहभागी सुब्रत न्यौपानेले कतिपय एप्सहरु आफूले पनि प्रयोग गरिरहेकोमा त्यसलाई अझै सहज तरिकाले उपयोग गर्ने, प्रविधिमा आएका नयाँ नयाँ सुरुआतलाई अवलम्बन गर्ने कुरा तालिमबाट सिकेको बताए । आज हामीले जे सिक्यौं, दुईजना साथीहरुलाई सिकाउन सकियो भने हाम्रो पत्रकारिताले फड्को मार्ने रहेछ भन्ने उनको धारणा थियो ।
यसैगरी पत्रकार अम्बिका भण्डारीले आजको बसाईले प्रविधि सिक्ने भोक जगाएको बताइन् । उनले समय मिलाएर लामो तालिम लिन पाए हाम्रा मोवाइलले पनि ल्यापटपलाई विदा गर्ने रहेछन् भन्ने लागेको सुनाइन् ।