लागूऔषधसहित बिर्तामोडबाट एक भारतीय महिला पक्राउ
बिर्तामोड । बिर्तामोडको कृषिथोकबाट लागूऔषधसहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ सवा पाँच बजे इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम राउतको टोलीले भारत प्रोफेसर कलोनी कटिहार वडा नम्बर २२ बिहार राज्य घर बताउने अन्दाजी ३० बर्षीया शोभा दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
प्रहरीले दासको ब्यागबाट एक हजारको नेपाली नोट थान ३७, पाँच सयको नेपाली नोट थान १३, एक सयको नेपाली नोट थान ३, बीसको नेपाली नोट थान ६, दस को नेपाली नोट थान १ र पाँचको नेपाली नोट थान २ गरी जम्मा नेपाली नगद त्रिचालिस हजार नौ सय चालिस रुपैयाँ र प्लाष्टिक सहित २ ग्राम २४० मिलि ग्राम र प्लाष्टिक बाहेक १ ग्राम २९० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
दासको साथबाट ९८२७९१८८७५ नम्बरको सिमसहित मोबाइलसमेत बरामद गरेको गिरीले बताए ।