ट्याङ्करमा लुकाएर गाँजा तस्करी, चार जना पक्राउ
झापा । पेट्रोलियम पदार्थ बोक्ने ट्याङकरमा लुकाएर तस्करी गरिरहेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलो प्रहरीले बरामद गरेको हो । उक्त गाँजासहित चार जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बीचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ–१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।