कनकाईका ३६ महिलाले लिए धुप बनाउने तालिम
कनकाई । झापाको कनकाई नगरपालिकाले ३६ जना महिलालाई धुप बनाउने तालिम दिएको छ । वडा नम्बर १ र ७ मा रहेको बिहानी महिला समुहमा आवद्ध ती महिलाहरुका लागि सीपमुलुक धूप बनाउने ३ दिने तालिम सम्पन्न भएको हो ।
कनकाई नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरुलाई स्वरोजगार बनाउनका लागि तालिम आयोजना गरिएको बताइएको छ ।
तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले तालिम लिइएका सहभागीहरुलाई यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिइन् । उनले महिलाहरुलाई समूह बनाई सामाग्रीहरु उत्पादन गरी बिक्री वितरण गर्न र स्वरोजगार बन्न आग्रह गरिन् ।
उनले नगर तथा वडाले स्वरोजगार बन्नका लागि महिला लक्षित कार्यक्रम निरन्तर गर्दै जाने भन्दै आगामी दिनमा पनि साबुन, हर्पिक, फिनेल लगायतका सामाग्री बनाउने योजना अघि सार्न सुझाव दिइन् ।
बिहानी महिला समुहकी अध्यक्ष ईन्दिरा भुजेल (मन्जु)को सभापतित्वमा भएको कार्यक्रमका सहजकर्ता जागरण एकल महिला समुहकी सचिव गिता शिवाकोटी र मनमाया थापाले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर धेरै महिलाहरुलाई आय आर्जन गर्न सक्षम बनाएको बताउदै सीप सिकेपछि केही गर्छु भनि लागि पर्न आग्रह गरे ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष शुशिलकुमार पोखरेलले महिलाहरुले तालिममा सिकेको कुरालाई व्यवसायिक बनाउन वडाबाट आवश्यक बजेटको व्यवस्था गरिदिने घोषणा गरे । ‘तपाईहरु सिकेको सिपबाट उद्यमी बन्छु भनेर आउहोस् हामी कामको थालनी गरिदिन्छौ,’ उनले भने ।
प्रशिक्षार्थीको तर्फबाट शर्मिला चुडालले यसरी सिक्ने अवसर प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै अब आफ्नो लागि आफै केही गर्न सकिने भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरिन् ।
तालिममा बिहानी महिला समुहका ३६ जना महिलाहरुले सहभागिता जनाएको समुहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिइन् । बिहानी महिला समुहकी उपाध्यक्ष गायत्री उप्रेतीले स्वागत गरेको तालिमको सन्चालन बिहानी महिला समुहकी सचीव शुरेखा कार्कीले गरेकी थिइन् ।