२०८३ आश्विन १६ गते , शुक्रबार

बिर्तामोडमा आदिवासी जनजाति महोत्सव उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८० माघ १० गते , बुधबार
बिर्तामोडमा आदिवासी जनजाति महोत्सव उद्घाटन

बिर्तामोड । झापाको बिर्तामोडमा दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव उद्घाटन गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बिच बिर्तामोड नगर प्रमुख  पवित्रा महतारा प्रसाईले महोत्सवको उद्घाटन गरेकी हुन ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा महोत्सव आयोजना गरिएको हो ।

बिर्तामोड–५ को सिटीसेन्टर उत्तर धर्मकाँटा रोडमा महोत्सव सञ्चालन गरिएको छ । उद्घाटन कार्यक्रममा नगरका आदिवासी जनजातिहरुले बाजागाजासहित झाँकीका साथै विभिन्न जातजातिहरुले जातीय सांस्कृतिक प्रस्तुति दिएका थिए ।

महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघका नगर अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए ।

आज उद्घाटन भएको महोत्सवमा भोलि बुधबारबाट राष्ट्रीय कलाकारहरुले प्रस्तुति दिने बताइएको छ । भोलि गायक राजनराज शिवाकोटीले प्रस्तुति दिनेछन् । उनले गाएको कुटुमा कुटु सुपारी दाना, सुर्के थैली खै, पूर्व पश्चिम रेल, गोजिमा दाम छैन्, चेप्टेचेप्टे पेरुङगो, उम्लियो भने पोखिन्छ लगायतका गितहरु चर्चित छन् ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ । द एलिमेन्ट व्याण्ड, सविन राईको व्याण्ड, पूर्ण राईको व्याण्ड, सपना सुमनको व्याण्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटीलगायत आउने मेला सञ्चालक नारायण अधिकारीले बताए ।

त्यस्तै, खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको छ। आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको छ । सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

महोत्सव माघ ३० गतेसम्म संचालन हुने बताइएको छ ।

सम्बन्धित समाचार