मेरुदण्डको उपचारका लागि नेपाल मै पहिलो ‘स्पाइन एक्स’ अस्पताल बिर्तामोडमा
बिर्तामोड । नेपाल मै पहिलो पटक मेरुदण्डको बिशिष्ट उपचारका लागि झापाको बिर्तामोडमा ‘स्पाइन एक्स सुपर स्पेसियालिटी हस्पिटल एन्ड ट्रमा सेन्टर’ सञ्चालनमा आएको छ । स्पाइन/अर्थोपेडिक सर्जन डा. प्रेमबहादुर शाहीको टीमले अस्पताल सञ्चालनमा ल्याएको हो ।
अंग्रेजी नयाँ बर्षको अवसरमा बिर्तामोडको भगवान चोकमा एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. बिनोद बिजुक्छेले सोमबार अस्पतालको उद्घाटन गरे । अस्पतालले १५ शैयाबाट सेवा शुरु गरेको अस्पतालका सञ्चालक डा.शाहीले जानकारी दिए । उनले स्पाइन एक्स मेरुदण्ड (स्पाइन) सम्बन्धी उपचार गर्ने नेपालकै पहिलो ट्रमा सेन्टर भएको बताए । प्रारम्भिक चरणमा ३० करोडको लगानीमा अस्पताल शुरु गरिएको र यसलाई विस्तार १०० शैय्याको बनाइने उनले जानकारी दिए । आठ बर्ष अगाडीदेखिको सोँच पूरा भएको भन्दै डा. शाहीले खुशी व्यक्त गरे ।
सडक दुर्घटनाबाट ५० प्रतिशत मानिसको दुर्घटनास्थलमा नै ज्यान जाने गरेको र त्यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने डा. शाहीले बताए । दुर्घटनाबाट घाइते करिब २५ प्रतिशतले अस्पतालको इमर्जेन्सीमा राम्रो म्यानेज गर्न नसक्दा ज्यान जाने हुँदा त्यसको निराकरण गर्न अस्पतालले प्रयत्न गर्ने उनले बताए । दुर्घटनास्थलबाट अस्पतालसम्म सुरक्षित रुपमा बिरामीलाई ल्याउन प्रशिक्षणको व्यवस्था गरिने अस्पतालले जनाएको छ । सडक दुर्घटना, लडेका साथै विभिन्न विपतमा परेर घाइते भएकाहरुको स्पाइन एक्समा विशिष्ट उपचार हुने बताइएको छ ।
बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बिर्तामोड स्वास्थ्य उपचारको केन्द्र बनेकोमा खुशी व्यक्त गर्दै उपचारलाई कम आय भएका सर्वसाधारणको पहुँचयोग्य बनाउनु आजको चुनौती भएको बताइन् ।
मेरुदण्ड सर्जन डा. गौरवराज ढकालले एमआरआई बोकेर बिरामीले हाडजोर्नी तथा मेरुदण्डको उपचारका लागि अब भारत धाउनु नपर्ने बताए । उनका अनुसार अस्पतालले कि–होल सर्जरी, जोर्नी प्रत्यारोपण, कम्प्लेक्स ट्रमा सर्जरी, बोन बायोप्सी, छिनेको हातखुट्टा जोड्ने उपचार, सीटी स्क्यान, अत्याधुनिक ल्याब, क्याबिनसहितको डे–केयर सर्जिकल मेडिकल वार्ड लगायतको उपचार सेवा तथा सुविधा प्रदान गर्ने भएको छ ।