दमक उवा संघद्वारा पत्रकार लामिछाने सम्मानित
दमक । मुलुक संघीयतामा गएपनि ब्यवसायीका समस्या समाधान गर्न तीनै तहका सरकार गम्भिर नभएको ब्यवसायीहरुले गुनासो गरेका छन् । उद्योग वाणिज्य संघ दमकको ३२ औं साधारण सभामा बोल्दै ब्यवसायीले यस्तो गुनासो गरेका हुन् ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार सम्पन्न साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापाले समग्र नगरको विकासमा नगरमा आबद्ध सामाजिक संघ संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने– ‘नगरको समग्र विकासमा एक्लो प्रयासबाट सम्भव छैन, तपाई आम नगरबासी र संघ संस्थाको सक्रिय भूमिका आवश्यक छ ।’ उनले नगरपालिका भित्र पछिल्लो समय फोहोर ब्यवस्थापन, लागुऔषध दुब्र्यसनी, निजी क्लिनिकहरुमा भइरहेको लापरवाही जस्ता विषय मुख्य समस्याको रुपमा देखापरेको बताए ।
कार्यक्रम विशेष अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले मुलुकमा बढ्दो बैंकिङ क्र्यासिस र तरलताको कारण ब्यवसायहरु मारमा परेको बताए । यसैगरी अर्का केन्दीय सदस्य उमेश डालमियाले धेरै युवाहरु रोजगारीमा विदेसिएको र युवा विदेसिँदा ब्यापारमा प्रत्यक्ष असर पुगेको टिप्पणी गरे ।
कार्यक्रममा कर कार्यालय दमकका अधिकृत लक्ष्मण कार्कीले ब्यवसायीको करबाट मुलुक चलेकोले समयमा कर तिर्नु ब्यवसायीको इमान्दारिता र कर्तब्यपनि भएको बताए ।
यसै बिच संघले साधारण सभाको अवसर पारेर पत्रकार विमल लामिछानेलाई सम्मान गरेको छ । संघले पत्रकारिता क्षेत्रबाट योगदान पुर्याएबापत नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति कोषाध्यक्ष तथा पूर्वसन्देशकर्मी लामिछानेलाई सम्मान गरेको हो ।
यसैगरि संघको स्थापनाकालमा समितिमा रहेका ब्याक्तित्वहरु रामसिं शाह, प्रकाश बुढाथोकी, मदन अधिकारी र दिननाथ शाहलाई सम्मान गरेको छ । यसैगरी ब्यवसायीहरु दाहाल फार्मेसीका सञ्चालक विश्वनाथ दाहाल, रेमन ट्रेडर्स सञ्चालक यसोदा भट्टराई, दमकबाट राष्ट्रिय स्तरमा पहिचान कमाएका खेलाडीहरु विशाल पौडेल र रोसन मगरलाई सम्मान गरिएको संघका बरिष्ठ उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।