२०८३ आश्विन १७ गते , शनिबार

झापा लिग : अर्जुनधारा र बुद्धशान्ति फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २३ गते , शनिबार
झापा लिग : अर्जुनधारा र बुद्धशान्ति फाइनल प्रवेश

बिर्तामोड । अर्जुनधारा र बुद्धशान्ति झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको अन्तिम दिनको सेमिफाइनल खेलमा विजयी हुँदै अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका फाइनल खेलका लागि प्रवेश गरेका हुन् ।

शुक्राबार भएको बुद्धशान्ति र झापा गाउँपालिकाबिच भएको खेलमा बुद्धशान्तिले झापालाई ५–१ गोल अन्तरले पराजित गर्यो । बुद्धशान्तिका लागि बबिन बोहोराले एकल ४ गोल गरे । यो सँगै जारी प्रतियोगितामा बबिन बोहोराको व्यक्तिगत १२ गोल भएको छ । उनले तीन खेलमा चार–चार गोल गरेका थिए ।

खेलको २९ औँ, ४३ औँ, ६४ औँ र ७५ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । बुद्धशान्तिले एक गोल उपहारस्वरुप पाएको थियो । झापाका लागि ४० औँ मिनेटमा अनिश खड्काले सान्त्वना गोल फर्काएका थिए ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, समाजसेवी गंगाप्रसाद ओलीलगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफमा दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो ।

तर, दोस्रो हाफमा अर्जुनधाराले मेचीनगरलाई दबाबमा राखेको थियो । खेलको सुरुवाती अग्रता मेचीनगरले लिए पनि नतिजा उल्टाउँदै अर्जुनधारा फाइनल प्रवेश गरेको हो ।

खेलको १६ औँ मिनेटमा मेचीनगरका रिक्की श्रेष्ठले गोल गरेका थिए । तर, ३९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्तै, अर्जुनधाराका लागि खेलको ५२ औँ र ७१ औँ मिनेटमा राजेश दाहालले गोल गर्दै जित निश्चित बनाए ।

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका राजेश दाहाल भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, समाजसेवी गंगाप्रसाद ओलीलगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

प्रतियोगिताको फाइनल खेल बुद्धशान्ति र अर्जुनधाराबीच मंसिर २४ गते दिउँसो २ बजे हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार