दुर्गा प्रसाईको उद्धेश्य र गतिविधीको तादम्यता के ?
पछिल्लो समय विभिन्न कार्यक्रम गर्दै हिँडेका दुर्गा प्रसाईको उद्धेश्य के हो भन्ने धेरैको मनमा अनुत्तरित प्रश्न बनेको छ । त्यति मात्र होइन प्रसाई व्यवसायी हुन् कि अभियान्ता भन्ने समेत प्रश्नले घर गर्न थालेको छ । यी र यस्ता प्रश्न जन्मिनु स्वभाविक हो । करिब डेढ दशक अघि झापाको बिर्तामोडमा बीएण्डसी हस्पिटल र पछि पूर्वाञ्चल क्यान्सर अस्पताल बनाएर स्वास्थ्य व्यवसाय शुरु गरेका प्रसाईको पछिल्लो गतिविधीले उनको उद्धेश्यमाथि नै प्रश्न जन्माएको हो ।
नेकपा माओवादीको कार्यकर्ता छँदै प्रसाईले बिर्तामोडमा बीएण्डसी अस्पताल र मेचीनगरको धाइजनमा मेडिकल कलेजको निर्माण गरे । पार्टीको हाइकमाण्डसँग राम्रै हिमचिम बनाएका प्रसाईले पार्टीका उपल्लो नेतृत्वको उपस्थितीमा तामझामका साथ राजधानीका ठूला मिडियाबाट जहाजमा सञ्चारकर्मीसमेत ल्याएर अस्पतालको उद्घाटन गराएका थिए ।
मेडिकल कलेजको सम्बन्धनका लागि उनले राजनीतिक पहुँच पटक पटक लगाए तर सम्बन्धन पाउने कुरामा डा. गोविन्द केसीको अवरोधका कारण निराश बन्दै गएका प्रसाई पार्टी बदल्ने निर्णयमा पुगे । उनी २०७८ कात्तिक ७ गते बिर्तामोडमा भएको एक कार्यक्रममा एमालेमा प्रवेश गरे । एमाले अध्यक्ष ओलीले खदा लगाएर प्रसाईलाई पार्टीमा स्वागत गरेका थिए । त्यसो त उनी एमाले प्रवेश गर्नु अघि नै २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनमा देखिएका थिए । एमाले प्रवेश गरेको छ हप्तामै मंसिर २५ गते शनिबार बसेको एमालेको दोस्रो केन्द्रिय समिति बैठकले प्रसाईलाई केन्द्रीय सदस्य मनोनित गरेको थियो ।
उनलाई एमालेले त्यतिमात्र पुरस्कार दिएन मोतिलाल दुगड प्रमुख रहेको उद्योग विभागको उपप्रमुख नै बनायो ।
केपी ओली प्रधानमन्त्री भएको बेला बीएण्डसीलाई सम्बन्धन दिने अन्तिम तयारी समेत गरेका थिए । ओलीले आकस्मिक रुपमा चिकित्सा शिक्षा आयोगको बैठक नै डाकेका थिए । तर आयोगका पदाधिकारीको असहयोग र गोविन्द केसीको दबाबका कारण बीएण्डसीले सम्बन्धन पाउन सकेन । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसँग प्रसाईको लफडै चल्यो । प्रसाईले गिरीलाई २० करोड घुस मागेको आरोपसमेत लगाए ।
यसरी आश गरेको केटो जेठाजु भने जस्तै हजुरबा भनेर पुकारेका ओलीले समेत सम्बन्धन दिलाउन नसकेपछि प्रसाई सांसद बन्ने मौका हेर्न थाले । उनले यहि बिचमा झापा २ मा सांसद बन्ने सपना देखि सकेका थिए । सांसद बन्ने मेलो मिलाउन प्रसाईले विद्यालय भवन, मन्दिर आदिमा सहयोग गर्नुका साथै मानिसको स्वास्थ्य बीमासमेत गरिदिन थाले ।
सरकारको पक्षमा गतिलो ढंगले पेश गर्न नसकेपछि महान्याधिवक्ता रहेका अग्नी खरेललाई झापा पठाइयो । झापा २ मा सांसद उठ्ने आशमा खरेलले बिर्तामोडमा स्थायी डेरा जमाए । प्रसाईले झापा २ मा आफ्नो स्थान सुरक्षित नदेखेपछि झापा ३ मा आफ्ना सहयोगी गतिविधी अघि बढाए । तर, एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी सहकार्य गरेपछि सांसद बन्ने प्रसाईको सपना अन्तत तुहियो । आफ्नो सांसद बन्ने सपना तुहिएपछि प्रसाईले विस्तारै एमाले विरोधी गतिविधी अगाडी बढाउन थाले ।
माओवादी र एमालेलाई लात मारिसकेका प्रसाईले राजावादी धार पक्रिए । उनले राजतन्त्रको वकालत गर्न लागे । उनले गत बर्ष फागुन १ गते पूर्व राजा ज्ञानेन्द्र शाह र पारसको उपस्थितीमा मेचीनगरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअधियान’ उद्घाटन गरे । यतिबेला सम्म मुलधारको मिडियाले सहयोग नगरेको भन्दै प्रसाई युट्युबर तिर नजिकिँदै थिए ।
प्रसाईको गतिविधी पार्टी विधान विपरित भएको भन्दै एमाले प्रदेश १ कमिटीले कारबाहीका लागि केन्द्रिय कमिटीमा सिफारिस गर्यो । अन्ततः फागुन १७ गते बसेको पार्टी सचिवालयको बैठकले पार्टीको नीति विरुद्धको गतिविधीमा लागेको भन्दै केन्द्रिय सदस्यबाट प्रसाईलाई हटाउने निर्णय गर्यो । प्रसाईले भने आफैले एमाले छाडेको बताए ।
प्रसाई बैंक तथा वित्तीय संस्थाको खरो विरोधमा उत्रिए । ऋण नतिर्न र ऋण उठाउन आउने कर्मचारीहरुलाई कालोमोसो दल्न उनले सार्वजनिक आह्वान गर्नुका साथै कालोमोसो दस्ता नै निर्माण गरे । उनको उक्साहटमा लागेका कतिपय मानिसले बैंक तथा वित्तीय संस्थामाथि धावा बोले । उनको अभियानको असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ ।
एमालेको विरुद्धमा खरो रुपमा उत्रिएका कारण रिसाएका एमालेका कार्यकर्ताले असोज २२ गते कान्तिपथस्थित होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरेर निस्कँदै गर्दा महेश बस्नेतसमूहले कालोमोसो दले । त्यसपछि एमाले र प्रसाईसमूह बिच थप तीक्तता बढ्यो ।
प्रसाईले पछिल्लो समय मंसिर ७ गते काठमाण्डौमा बैंक तथा वित्तीय संस्थाबाट पिडित भएकाहरुलाई भेला गरेर शक्ति प्रदर्शन गर्ने भन्दै देशभरबाट मानिस बोलाए । बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा हुने आशमा ऋण काढेर आएका मानिसहरुलाई युवा संघका कार्यकर्ता र प्रहरीले कार्यक्रममा अवरोध गर्यो । ऋण मिनाहा गराउने भन्दै बोलाएका मानिस सहभागि कार्यक्रममा प्रसाईले राजतन्त्रको चर्को नारा लगाए । जेहाद नछेडुञ्जेल राजधानी केन्द्रित कार्यक्रम गरिरहने बताएका प्रसाईको कार्यक्रममा तेस्रो दिनदेखि नै मानिसको संख्या कम हुन थाल्यो । दोस्रो दिन मंसिर ८ गते तिनकुनेमा प्रशासनको अनुमति बिना नै अराजक कार्यक्रम गर्न लागेका प्रसाईलाई प्रहरीले भक्तपुरस्थित घरदेखि बाहिर निस्कन दिएन । तेस्रो दिन कार्यक्रम गर्न सिफल पुगेका प्रसाईले सहभागी संख्या कम भएको भन्दै गुनासो गरे ।
सहभागी कम हुँदै गएपछि कार्यक्रमको मोडल परिवर्तन गरेका प्रसाईले गौशालामा साधुसन्तको ऐक्यवद्धताका लागि आह्वान गरेको कार्यक्रममा केहि मानिस पक्राउ परे । त्यतिञ्जेलसम्म थाकिसकेका प्रसाईले काठमाण्डौमा सहभागि नहुने भएपछि जिल्ला केन्द्रित कार्यक्रम गर्ने भन्दै काठमाण्डौमा रहेका केहि मानिसलाई जिल्ला पठाए । मंसिर १७ गते पत्रकार सम्मेलन गरेर मङ्सिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आफ्नो आन्दोलन निर्णायक बनाउने बताएका छन् । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरे ।
वैदिक सनातन सापेक्ष मुलुक बनाई देशमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउने उनले बताए । काठमाण्डौको वसन्तपुरमा पूर्व राजाकै हातबाट दियो बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिने प्रसाईले पत्रकार सामु बताए ।
मेडिकल व्यवसाय गर्न ठूलै आँट लिएर हिँडेका प्रसाई कलेजले सम्बन्धन नपाएको झोँकमा दल बदल गर्दै राजनीतिप्रति नै प्रहार गर्न लागेका त हैनन् भन्ने कतिपयको आशंका छ ।
बैंकबाट अर्बौँ ऋण लिएर व्यवसायी बनेका प्रसाईले सांसद बन्न नपाएको आवेगमा विभिन्न फण्डा लिएर मानिसहरुको मन जित्ने प्रयत्न गरेको देखिन्छ । बीस लाखसम्म ऋण मिनाहा गराउने भन्दै पिडितहरुको मन जित्ने प्रयास गरेपनि अन्नत उक्त आन्दोलन सेलाएको छ ।
आफुले अर्बौँ रुपैँया ऋण लिएर अरुलाई ऋण नतिर्न आग्रह गर्दै आन्दोलनको नेतृत्व गर्नु आफैँमा स्वार्थपूर्ण देखिन्छ । त्यतिमात्र होइन गैरकानुनी वैदेशिक लगानीको विरोध गर्दै नेताहरुको विदेशमा भएको लगानी खोज्नु पर्ने बताउँदै आएका प्रसाईले हुण्डीमार्फत युएईमा करोडौँ लगानीको तयारी गरेको तथ्य सबैसामु छर्लङ्ग छ । लगानीका लागि वातावरण बन्दा नबन्दै युएईको राजपरिवारमा चिनजान गराउने सहयोगीबाट नै आफ्नो पैसा अपचलन भएकोसमेत उनी बताउँदै आएका छन् । खाडी मुलुकसँग हिमचिम र व्यवसायिक गतिविधी बढाएपछि प्रसाईलाई दक्षिणबाट दबाब आएको र राजतन्त्रको वकालत गर्न लागेको भन्नेसमेत हल्ला गाँइगुँइ छ । बर्षौँ लगाएर फालेको राजतन्त्र व्युँताउने र अहिलेको व्यवस्था नै परिवर्तन गर्ने भन्दै प्रसाई लाग्नुको तात्पर्य , उनको व्यवसाय र आन्दोलनको तादम्यता के भन्नेसमेत खड्किएको छ ।
लोकतान्त्रिक मुलुकमा स्वतन्त्रतापूर्वक बोल्न पाउने नागरिकको हकको सम्मान गर्दै उनले गरेको गतिविधीलाई एकातिर छाड्ने हो भने सरकारको अनुमति लिएर करोडौँ लगानी गरेर सम्बन्धन नपाउँदा एउटा नागरिक राज्यबाट पिडित भएको आभाष भने हुन्छ । उनले मेडिकल कलेजका लागि निर्माण गरेका संरचनामा वन्यजन्तुले आश्रयस्थल बनाएको छ । राज्यले नागरिकले स्वतन्त्रतापूर्वक व्यापार व्यवसाय गर्न पाउने हकको सम्मान गर्दै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनु पर्छ जसले पूर्वको विकासमा एउटा इटा पक्कै थप्नेछ ।