एभरेस्ट स्मार्ट स्कुलका विद्यार्थीले गरे कोशी टप्पुको अध्ययन भ्रमण
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित एभरेस्ट स्मार्ट स्कुलका विद्यार्थीले सुनसरीको कोशी टप्पु आरक्षको भ्रमण गरेका छन् । कक्षा ८ मा अध्ययनरत उनीहरुले बन्यजन्तु आरक्षको विधिताबारे अध्ययन गर्न कोशी टप्पुको भ्रमण गरेका हुन् ।
बिज्ञान बिषयको पाठ्यक्रम अन्तर्गत बन्यजन्तु आरक्षण क्षेत्र, सिमसार क्षेत्र जस्ता संरक्षण क्षेत्रबारे विद्यार्थीले पूर्ण ज्ञान हासिल गरुन भन्ने उद्धेश्यले कोशी टप्पु वन्य जन्तु आरक्षको भ्रमण गराइएको विद्यालयका प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए । विद्यार्थीहरुलाई शनिबार एकदिने अनुसन्धानात्मक भ्रमण गराइएको उनले बताए ।
किताबमा रहेको कुरालाई व्यवहारिक सिकाइका लागि आफ्नै आँखाले अझ नजिकबाट हेर्न छुन पाउने र थप प्रभावकारी सिकाई होस् भन्ने उद्धेश्यले भ्रमण आयोजना गरिएको शर्माको भनाई छ ।
विद्यालयले आयोजना गरेको भ्रमणले सिकाईलाई सहज बनाउनुका साथै मनोरञ्जन प्रदान गरेको भन्दै विद्यार्थी एमन प्रसाईले खुशी व्यक्त गरे । उनले यस्ता कार्यक्रम समय समयमा आयोजना गर्न विद्यालयलाई आग्रह गरे । यो घुम्न जाने भ्रमणमात्रै भन्दा पनि पाठ तथा प्रयोगात्मक अंकका लागि गरिने अनुसन्धानात्मक भ्रमण भएकोले सबैले आफ्नो भ्रमणबारे प्रतिबेदन तयार पार्ने र बुझाउने अर्का विद्यार्थी एरिका चम्लागाईले बताइन् ।