२०८३ आश्विन १७ गते , शनिबार

झापा लिग : बिर्तामोड र हल्दिबारीले बाँडे १–१ अंक

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ८ गते , शुक्रबार
झापा लिग : बिर्तामोड र हल्दिबारीले बाँडे १–१ अंक

बिर्तामोड । झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल प्रालि अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एकएक अंक भएको छ ।

खेलको २८औँ मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ३१औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काएका थिए ।

त्यस्तै, खेलको ६२औँ मिनेटमा बिर्तामोडका रोमन भूजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६औँ मिनेटमा हल्दिबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि खेल बराबरी भएको थियो ।

आजको खेलको प्लेयर अफ दि म्याच हल्दिबारीका हिरण राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता तीर्थराज ढकालले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल र मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार