आत्महत्या दुरुत्साहन अभियोग लागेका वडाध्यक्षले गरे आत्मसमर्पण
बिर्तामोड । कमल गाउँपालिका–६ का वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराईले आत्मसमर्पण गरेका छन् । स्थानीय ३६ बर्षीय अनिल कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोग लागेका वडाध्यक्ष भट्टराईलाई प्रहरीले खोजीरहेको बेला उनले आत्मसमर्पण गरेका हुन् ।
प्रहरीको खोजीमा रहेका उनी शुक्रबार प्रहरी कार्यालय दमकमा हाजिर भएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एउटै कसूरमा कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भालिपल्ट पक्राउ गरेको थियो । वडाध्यक्ष भट्टराई भने राजनीतिक संरक्षणका कारण पक्राउ परेका थिएनन् ।
गत ६ कात्तिक गते मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए । आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दशैंको टिकाको दिन अर्थात कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए । तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारवाही अघि नबढाउँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिंडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब र हस्तक्षेप दिएको गुनासो गरेका थिए । त्यसक्रममा कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए । कार्कीलाई श्रीमती, ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् ।