एनएमसीको ३१औँ बार्षिक प्रतिवेदन सार्वजनिक
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । बिर्तामोडस्थित सहकारीको सेवा केन्द्रमा आज पत्रकार सम्मेलन आयोजना गर्दै ३१औँ बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।
२०५० सालमा २५ जना शेयर सदस्यहरुबाट २ लाख ५३ हजार शेयर पूँजीबाट शुरु गरिएको संस्थामा हाल १ लाख ५१ हजार ८०३ जना सदस्य र १ अर्ब ४० करोड ५ लाख १८ हजार ६०० शेयर पुँजी रुपैयाँ रहेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए । २०७२ सालदेखि एनएमसीले अन्य व्यवसायपनि गरिहेको उनले बताए । हाल एनएमसीले बचत तथा ऋणको कारोबारसँगै डेरी उद्योग, एनएमसी एग्रो फार्म, सहकारी पसल र चिया प्रशोधन उद्योग सञ्चालन गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिवाकोटीले संस्थागत पुँजी ७६ करोड ९२ लाख ७ हजार ६५९ रहेको र कुल प्राथमिक पुँजी २ अर्ब १६ करोड १४ लाख ४६ हजार २५९ रुपैयाँ रहेको जानकारी दिए ।
अध्यक्ष शिवाकोटीले संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा कुल आम्दानी २ अर्ब ५६ करोड ४१ लाख ९६ हजार ८१९ रुपैयाँ गरेको र खर्च २ अर्ब २८ करोड ८३ लाख ९७ हजार ५५३ रुपैयाँ गरेर सञ्चालन नाफा २७ करोड ५७ लाख ९९ हजार २६६ रुपैयाँ गरेको बताए । सहकारीका ५८ वटा सेवा केन्द्रमार्फत इलाम, झापा र मोरङमा सेवा सञ्चालन गरिरहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले आगामी मंसीर २ देखि ८ गतेसम्म इकाईगत साधारणसभा गरेर मंसिर १६ गते अन्तिम आइन्यूट प्रमाणिकरण बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा गर्ने जनाइएको छ । सहकारी संस्थाको नियमानुसार इकाईगत साधारणसभाबाट प्रतिनिधि छनौट हुने र छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणीकरण गरिने निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।
सहकारीले ७३७ पटक बिभिन्न ठाउँमा सदस्य शिक्षा प्रदान गरेको छ भने संस्थाका सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्य गरेको संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
एनएमसीले विभिन्न व्यवसायमार्फत भदौ मसान्तसम्ममा एक हजार एक सय ४४ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको संस्थाले जनाएको छ ।