२०८३ बैशाख ६ गते , आईतबार

सामुदायिक विद्यालयका शिक्षकले छोराछोरी सरकारीमा पढाए पुरस्कृत गरिने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ५ गते , शुक्रबार
सामुदायिक विद्यालयका शिक्षकले छोराछोरी सरकारीमा पढाए पुरस्कृत गरिने

दमक । नेकपा माओवादी केन्द्र दमकले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि निगरानी गर्ने भएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको गुनासोपछि माओवादी केन्द्र दमकको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । दमक माओवादीले शिक्षकको जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्दै शिक्षकलाई पनि सुधार गर्नुपर्ने जनाएको छ ।

सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग राखेको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न त्यहाँ कार्यरत शिक्षक नै आफ्नो पढाईमा विश्वस्त छन् कि छैनन् पहिला जाँच गर्नुपर्छ । उनीहरुका सन्तानलाई सामुदायिक विद्यालयमा पढाएका छन् कि छैनन् अनुगमन जरुरी छ,’ उनले भने, ‘दमकका सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाएका छन् भने माओवादी दमकले पुरस्कृत गर्छ । सामुदायिक विद्यालयका शिक्षकले सरकारी विद्यालयको विश्वास नगरी निजीमा पढाएका रहेछन् भने सम्बन्धित निकायमा जानकारी गराउँछौँ ।निर्णय कार्यान्वयनका लागि वडामा रहेका शिक्षण संस्थाको विवरण नगर पार्टीमा दिन माओवादीले कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

यस्तै, शुक्रबारको नगर कमिटी बैठकबाट जसपाका पूर्वकेन्द्रीय सदस्य देउकुमार लिम्बूसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीसहित विद्यापति तिम्सिना, राप्रपाका टिका दंगाल, एमालेका डेविट शाही, गुमानसिंह तामाङलाई पार्टी प्रवेश गराउँदै नगर कमिटीमा मनोनित गरिएको छ । उनीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य इन्द्रबहादुर आङ्बो मौसमले पार्टी प्रवेश गराएका थिए ।

सम्बन्धित समाचार