२०८३ बैशाख ६ गते , आईतबार

सामुदायिक शिक्षक आन्दोलन, आजदेखि ७० लाख बढी विद्यार्थीको पठनपाठन बन्द

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ४ गते , विहीबार
सामुदायिक शिक्षक आन्दोलन, आजदेखि ७० लाख बढी विद्यार्थीको पठनपाठन बन्द

बिर्तामोड । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।  विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौ गएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाण्डौ गएका छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाण्डौ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ ।  ‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौँ । आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने ।

सरकारकै कारण काठमाण्डौ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो  ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ ।

सम्बन्धित समाचार