२०८३ बैशाख ६ गते , आईतबार

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिने

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ३१ गते , आईतबार
आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिने

काठमाण्डौ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । 
सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । 
सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको सङ्घले आरोप लगाउँदै आएको छ ।  चिकित्सकद्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । 
सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।
जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ । 
सङ्घले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ । साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत जनाउन माग गरेको छ ।  
भदौ २७ गते चिकित्सकद्वय थापा र बिडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए । 
यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।

सम्बन्धित समाचार