२०८३ बैशाख ६ गते , आईतबार

धुलाबारी क्याम्पसले पायो इन्जिनियरिङको सम्बन्धन

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १८ गते , सोमबार
धुलाबारी क्याम्पसले पायो इन्जिनियरिङको सम्बन्धन

बिर्तामोड । धुलाबारी क्याम्पसले नेपालमै पहिलोपल्ट इन्जिनियरिङ अध्यापनको सम्बन्धन पाएको छ ।  काउन्सिलबाट इन्जिनियरिङ पठनपाठनको सम्बन्धन पाउने धुलाबारी पहिलो सामुदायिक क्याम्पस बनेको हो ।
नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको हो ।
क्याम्पसले सोमबार बिहान यस विषयमा जानकारी दिएको हो ।
देशभरमा ५६३ वटा सामुदायिक क्याम्पसमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको क्याम्पस प्रमुख पुष्प पौडेलले बताए ।
‘समस्त मेचीनगरबासीका लागि यो साह्रै ठूलो खुशीको खबर हो,’ उनले पत्रकार भने, ‘निरन्तरको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालय दुबैले सिभिल इन्जिनियरिङ संकायका चार वर्षे स्नातक तहको पठनपाठन गर्न सम्बन्धन दिएका छन् ।’
यही असोज ६ असोजभित्र भर्नाका लागि आवेदन लिइने र यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङको स्नातक कक्षा (बीई)को पठनपाठन सुरु गरिने कार्यक्रम निर्देशक ई. रुद्र मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार काउन्सिलले धुलाबारी क्याम्पसलाई बीई कक्षाका लागि ४८ सिट दिएको छ । जसमध्ये चार सिटमा क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
मेचीनगर–१० रघुबीरबाडीमा रहेको धुलाबारी क्याम्पस ७ बिगाहा क्षेत्रफलमा फैलिएको छ । सहरी भीडभाडभन्दा टाढा, शान्त र सुरक्षित वातावरण भएकाले धुलाबारी क्याम्पसको शैक्षिक वातावरणलाई कोशी प्रदेशकै उत्कृष्ट वातावरण भएको क्याम्पस मानिन्छ ।
२०४८ सालमा स्थापित धुलाबारी क्याम्पसले ३२ वर्षपछि बल्ल प्राविधिक धारको इन्जिनियरिङ विषयमा स्नातक तहको पठनपाठन सुरु गर्न लागेको छ ।
धुलावारी क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षको चैत १४ गते र नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते इन्जिनियरिङ संकाय सञ्चालनका लागि सम्बन्धन प्रदान गरेका हुन् ।

सम्बन्धित समाचार