चियासम्बद्ध मजदुरको बन्द कार्यक्रम स्थगित
बिर्तामोड । चियासम्बद्ध मजदुरहरुले आफ्नो हकहितको माग राख्दै आजदेखि घोषणा गरेको चिया बगान र कारखाना बन्दको कार्यक्रम १० दिनका लागि स्थगित गरेका छन् । सरकारले श्रमिकहरुको पारिश्रमिक निर्धारण गरी राजपत्रमा प्रकाशनसमेत गरेकाले आवश्यक छलफलका लागि बन्दको कार्यक्रम स्थगित गरेका हुन् ।
नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले बुधबार विज्ञप्ती जारी गरी आजदेखि आह्वान गरिएको बन्द कार्यक्रम भदौ १७ गतेसम्मका लागि स्थगित भएको जनाएका छन् । उनीहरुले २०७९ असार ५ गते श्रम ऐन २०७४ को दफा १२३ अनुसार चिया क्षेत्रका रोजगारदाता संघ संस्थाहरुलाई चिया बगानमा कार्यरत श्रमिकहरुको तर्फबाट श्रमिकहरुले विद्यमान श्रम कानुन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ अनुसार सेवा सुविधा पाउनु पर्ने भन्दै मागदाबी पेश गरेपनि गत साउन ५ गतेसम्मपनि सुनुवाई नभएपछि आजबाट सम्पूर्ण चियाबगान तथा कारखाना बन्द गर्ने जानकारी सहित साउन ८ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुका साथै सम्बन्धित सरोकारवालाई जानकारी गराएका थिए ।
नेपाल सरकारले भदौ १ गते श्रमिकहरुको पारिश्रमिक निर्धारण गरी साउन १ गतेदेखि लागूहुने गरी राजपत्रसमेत प्रकाशित गरेको छ ।
चिया सम्बद्ध संघसंगठनहरुले उक्त अवधिदेखि चियाबगानमा कार्यरत स्थायी तथा मौषमी कामदारहरुले उक्त पारिश्रमिक पाउने व्यवस्था गर्न, अन्य पत्ती डबली वृद्धि, रोजगार सम्झौता र योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सबै चिया श्रमिकहरुलाई सुचिकृत गर्न थप छलफलको आवश्यकता भएको भन्दै विज्ञप्तीमार्फत भदौ १७ गतेसम्मलाई बन्दको कार्यक्रम स्थगित भएको जनाएका छन् । उक्त अवधिभित्रपनि चिया श्रमिकहरुको समस्या सम्बोधन नगरिए भदौ १८ गतेदेखि सम्पूर्ण चियाबगान र कारखाना बन्द गरिनेसमेत उल्लेख गरेका छन् । ‘उक्त बन्दबाट हुने नोक्सानीको जिम्मेवार सम्बन्धित रोजगारदाताहरु नै हुनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘श्रम ऐनको दफा १२७ को (३) अनुसार हड्ताल अवधिको पारिश्रमिकसमेत पाउनु पर्ने जानकारी गराउन चाहन्छौँ ।’