२०८३ बैशाख ६ गते , आईतबार

चौतर्फी दबाबपछि बिर्तामोडले फिर्ता लियो करवृद्धी गर्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ३२ गते , विहीबार
चौतर्फी दबाबपछि बिर्तामोडले फिर्ता लियो करवृद्धी गर्ने निर्णय

बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्ष ०८०/८१ मा गरेको करवृद्धि फिर्ता लिँदै करलाई साबिक बमोजिम कायम गरेको छ ।
आज बसेको बिर्तामोड नगरपालिकाको कार्यपालिकाको बैठकले एकीकृत सम्पत्ति करमा गरिएको बृद्धि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि नगर प्रमुख पवित्रादेवी महताराले एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय करदाताबाट उठेका गुनासा, देश आर्थिक धरासायीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैराश्यता समेतप्रति संवेदनशील हुँदै चालु आर्थिक वर्षमा हेरफेर भएको सम्पत्ति करलाई साबिक बमोजिम कायम गरिएको जनाएकी छन् ।
उनले सम्पत्ति करलाई साविक बमोजिम कायम गर्दा चालु आर्थिक बर्षका लागि प्रस्ताव गरेको वडा तथा नगरस्तरका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक स्रोतमा आएको कमीले हुने असहजतालाई सबै नगरबासीहरुले बुझिदिनु हुन्छ भन्ने विश्वास लिएकी छन् । एकीकृत सम्पत्ति कर बृद्धि नगर्दा नगरपालिकाको योजना तथा कार्यक्रम प्रभावित हुने देखिएको हो । नगर प्रमुख प्रसाईले आगामी दिनहरुमा सबै राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, समाजसेवी तथा करदाताहरुसँग आपसी समन्वय र अन्तरक्रिया गर्दै बिर्तामोड नगरपालिकालाई आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउने कुरामा हातेमालो गर्दै जाने विज्ञप्तिमा उल्लेख गरेकी छन् । संघीय सरकारबाट दिईने अनुदान प्रत्येक वर्ष बढ्दै जानुपर्नेमा चालु आवमा गत आवको तुलनामा करिब ४.५ करोड घटी प्राप्त हुने अवस्था देखिएको उनले बताएकी छन् । यद्यपि नगरपालिकाले जनताप्रति गरेका प्रतिबद्धताहरु पूरा गर्न थप स्रोतको पहिचान गर्ने र थप स्रोत पहिचान र परिचालन गर्ने एउटा औजार भनेको कर तथा राजश्वको हेरफेर पनि भएको उनको भनाई छ ।
करवृद्धिको विरोधमा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी विगत केही दिनदेखि आन्दोलित छन् । उनीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाउनुका साथै वृद्धि गरिएको करका सम्बन्धमा अध्ययन गर्न बनाएको अध्ययन समितिले तयार पारेको सुझाव प्रतिवेदनसमेत बुझाएका थिए । त्यति गर्दापनि पालिकाले निर्णय फिर्ता लिने संकेत नगरेपछि दलहरु थप आन्दोलनको तयारीमा रहेकै बेला पालिकाले निर्णय फिर्ता लिने निर्णय गरेको हो ।
त्यस्तै हिजोमात्र नेकपा एमालेले झापाका पालिकाहरुले गरेको करवृद्धिप्रति आपत्ति जनाउँदै करवृद्धि नगर्न र वृद्धि गरिएको करमा पुनरावलोकन गर्न आग्रह गरेको थियो । 

सम्बन्धित समाचार