गैर उपभोक्तालाई रुख बिक्री गरेको आरोपमा वन अध्यक्षसहित चार जना पक्राउ
बिर्तामोड । सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ परेका छन् । हेम बहादुर थापा, इन्द्र प्रसाई, केदार भट्टराई र चालक पदम तामाङलाई काँचा रुख कटान गरि गैर उपभोक्तालाई विक्री गरेको आरोपमा पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएकोछ । थापा सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, लेखा हेर्ने प्रसाई, भट्टराई कार्यालय सचिव रहेको बताइएको छ । उनीहरु विरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्धा अघि बढाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
वन कार्यालयले एक महिनामा १७ वटा रुख कटान गरेको प्रमाण फेला पारेपछि संलग्न हुन सक्ने संभावना रहेकोले उनीहरुलाई पक्राउ गरेर अुसन्धान अघि बढाइएको बताएको छ । घटना अलि अगाडि कै भएपनि सबै अनुसन्धान गरेर प्रमाण जुटाएर भर्खरै पक्राउ गरिएको बताइएको छ । ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको र त्यसको फेद गोलाई १० फिट रहेको छ भने ब्लक नं. २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको वन कार्यालयले जनाएको छ । यस्तै, ५ नं. ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेद गोलाई रहेको छ । टुना र फाला गरेर जम्मा ७ सय किवि रुख कटान भएको सूचना प्राप्त भएको वन कार्यालयले जनाएको छ ।
यता चालकले सिधैं फर्निचरमा काठ पुराएको प्रमाण रहेको भन्दै कार्यालय प्रमुख दान बहादुर श्रेष्ठले उहाँहरुले कोषको हिनामिना र वनमा नोक्सानी पुराएकै कारण पक्राउ गरेको बताए । कार्यालयले थप अनुसन्धानका लागि म्याद नै थप गरेको छ । पक्राउ परेकाहरुले उपभोक्ता समूह बाहिर लगरेर काठ विक्री गरेको विल नै फेला परेको छ ।
सामुदायिक वनले उपभोक्ताभन्दा बाहिर विक्री गर्न नमिल्ने काठपातलाई बाहिर विक्री गर्नु वन नियमावली २०७६ विपरित हुनेभन्दै अञ्जानमा भएका साना घटनाहरुलाई जरिवाना गरेर छोड्न सकिए पनि नियतवस गरिएका नियम विपरितका घटनामा मुद्धा चल्ने छ ।