झापासहित १० जिल्लामा डेंगुको उच्च जोखिम, सबैभन्दा धेरै बिरामी सुनसरीमा
बिर्तामोड । नेपालमा डेंगुका बिरामी दिनप्रतिदिन थपिँदै गइरहेका छन्। पछिल्लो दुई हप्तामा मात्र २ हजारभन्दा बढी बिरामी थपिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेका थिए । तर असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन् ।
डेंगुका थप भएका बिरामी पनि अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आएका मात्र हुन् । स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन् । सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी थप भएको विवरण महाशाखामा आउन थालेको छ । बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ ।
महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । यीमध्ये दुई हजारभन्दा बढी संक्रमित पछिल्लो दुई सातामा थपिएका हुन् ।
यी हुन् धेरै बिरामी देखिएका १० जिल्ला, कुन जिल्लामा कति बिरामी
सुनसरी – १५७१, धादिङ – २५८, दार्चुला – १८८, कास्की – १४९, संखुवासभा – ५८, काठमाडौं – ४६, कञ्चनपुर – ३९, भक्तपुर – ३५, म्याग्दी – ३५ र झापा – ३२
गत वर्ष नेपालमा स्वास्थ्य संस्थाको रेकर्डमा आएका डेंगुका बिरामीको संख्या ५४ हजार ७ सय ८४ जना थियो ।