सहकारी संघले ऋण उठाइदिन गुहारेपछि धमाधम सूचना जारी गर्दै स्थानीय तह*
बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले सहकारीबाट लिएको ऋण उठाउने कार्यमा सहजीकरण गरिदिन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । संघको पत्र प्राप्त भएसँगै उनीहरुले धमाधम सूचना जारी गर्न थालेका छन् । शिवसताक्षी नगरपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाले ऋण लिएको सहकारीमा गएर ऋण तिर्न सार्वजनिक सूचना जारी गरेका छन् ।
दुई दिन अघि झापा जिल्ला सहकारी संघ लिमिटेडले सहकारी संघ÷संस्थाको नियतबस कर्जा नतिर्ने, नतिर्न उर्दी गर्नेका विरुद्ध सूचना प्रकाशित गरी सहजीकरण गरिदिन भन्दै झापाका सबै पालिका प्रमुखलाई सम्बोधन गरी पत्राचार गरेको थियो । पत्रमा संघले मुलुकमा देखा परेको तरलता संकटका कारण अन्य क्षेत्रमा झैँ सहकारी क्षेत्रमा पनि गहिरो असर परेको उल्लेख गरेको छ । सदस्यहरुको श्रम र पसिनाबाट आर्जित रकम बचतको रुपमा जम्मा गरी सहकारी मार्फत सदस्यहरुलाई लगानी गरिएको कर्जा नतिर्न अराजक तथा स्वार्थ समूहहरुले आर्थिक संकटको फाइदा उठाउँदै वित्तीय कारोबार गर्ने सहकारी संघ÷संस्था माथि प्रहार केन्द्रित गर्दै आएको संघले पत्रमार्फत पालिकालाई जानकारी गराएको छ । पत्रमा भनिएको छ– ‘सहकारी संस्था बिना समाजमा नागरिकको वित्तीय पहुँच, वित्तीय साक्षरता, एकता र नेतृत्व विकास सम्भव छैन, यो सबैले बुझोको कुरा हो, तसर्थ त्यस पालिकाले सहकारी संघ÷संस्थाको नियतबस कर्जा नतिर्ने, नतिर्न उर्दी गर्नेका विरुद्ध तपशिल अनुसारको नमुनालाई आधारमानि सूचना प्रकाशित गरि सहजीकरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’
संघले पालिकाहरुलाई सूचनाको नमुनासमेत पठाएको छ । उक्त नमुना सूचनामा ‘समयमा ऋण नतिरी वा तिर्न अटेर गरि सम्पर्कमा नजाने ऋणीहरुको नाम सार्वजनिक गर्नुका साथै यस पालिकाले प्रदान गर्ने सुविधाबाट बञ्चित गरि प्रचिलत कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ’ भनि उल्लेख गरिदिन आग्रह गरिएको छ ।
संघको पत्र पाएसँगै शिवसताक्षी नगरपालिका,दमक नगरपालिका र गौरादह नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेका छन् । संघले १७ गते पालिकाहरुलाई पत्राचार गरेपनि शिवसताक्षी नगरपालिकाले असार १५ गतेको मितिमा नै संघको नमुना सूचनालाई हुबहु प्रकाशित गरेको छ ।
त्यस्तै दमक नगरपालिकाले सोमबार र गौरादह नगरपालिकाले मंगलबार सूचना प्रकाशित गरेका छन् । उनीहरुले संघको पत्र प्राप्त भएको जनाउँदै आफ्नो नगर क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीबाट ऋण लिएर समयमा साँवा व्याज नबुझाउने ऋणिलाई संस्थामा सम्पर्कमा जान र साँवा व्याज नियमित गर्ने सम्बन्धमा सञ्चालकसमितिसँग आवश्यक छलफल गर्न भनेका छन् । आफुले लिएको ऋण समयमा बुझाएर अन्य सदस्यहरुको बचत फिर्तामा सहयोग गरी सहकारीलाई समस्याग्रस्त हुनबाट बचाउन सूचनामार्फत आग्रह गरेका हुन् । उनीहरुले सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने हल्लाको पछि लागि वा जानाजान अटेर गरेर समयमा नबुझाउने ऋणिहरुलाई सहकारी कानून अनुसार कारबाही हुनेसमेत जनाएका छन् ।
पछिल्लो समय झापाका सहकारी संस्थाहरु दुई कित्तामा उभिएका छन् । झापाका केहि ठूला सहकारी सञ्चालकहरुले सहकारी अभियानले राम्ररी काम गर्न नसकेको आरोप लगाउँदै कोअपरेटिभ एलायन्स अफ झापा गठन गरी गतिविधी शुरु गरेका छन् भने अन्य सहकारीहरु अभियानसँगै नजिक छन् । विभिन्न जिल्लाका ठूला सहकारीहरु समस्याग्रस्त भएको समाचारहरु आइरहँदा झापाकापनि केहि सहकारीहरुमा समस्या देखिएको छ । सञ्चालकहरुको बद्मासीका कारण धेरैजसो सहकारी समस्याग्रस्त बन्दै गएको पाइएको छ । सहकारीहरुमा समस्या देखिन थालेपछि झापामा भने संकट टार्न बिग मर्जर, पालिकाको सहयोग जस्ता उपाय अवलम्बन गर्न शुरु गरिएको हो ।
अघिल्लो समाचारमामा गौरादह नगरपालिका छुटेकाले थप गरिएको छ – सम्पादक