२०८३ बैशाख ६ गते , आईतबार

शहरीया नै प्रयोग गर्दैनन् परिवार नियोजनको आधुनिक साधन

sajilo news
परिवेश मिडिया
२०८० असार १३ गते , बुधबार
शहरीया नै प्रयोग गर्दैनन् परिवार नियोजनको आधुनिक साधन

काठमाण्डौ । एघार वर्षका अवधिमा परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन गरिएका उपलब्धि शून्य देखिएको छ। सन् २०११ देखि सन् २०२२ सम्ममा यस्ता विधिको प्रगति उकालो लाग्न सकेको छैन । अर्थात् लगातार स्थिर देखिएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११, २०१६ र शुक्रबार सार्वजानिक गरिएको छैटौँ स्वास्थ्य सर्वेक्षण २०२२ मा आइपुग्दा परिवार नियोजनको आधुनिक साधन तथा विधि प्रयोग दर ४३ प्रतिशतभन्दा उक्लिन सकेको छैन ।

सन् १९९६ मा प्रयोग प्रतिशत २६, २००१ मा ३५, सन् २००६ मा ४४ थियो । परिवार नियोजनको परम्परागत विधिमा भने थोरै प्रगति देखिएको छ । सन् २०१६ मा १० प्रतिशत रहेका सो विधि १५ प्रशितमा उक्लिएको छ ।

परम्पारगत विधिमा केही उकालो लाग्नु तर आधुनिक साधन तथा विधिमा स्थिर रहनुले खासै यस क्षेत्रमा सकारात्मक प्रभाव पार्दैन ।

चौवालीस प्रतिशतमा उक्लिएको आधुनिक साधन तथा विधि घटेर लगातार एक दशकभन्दा बढी स्थिर हुनुले परिवार व्यवस्थापनका क्षेत्रमा गरिएका लगानीको गम्भीर समीक्षा गर्ने बेला देखिएको छ ।

यसले परिवार नियोजनको साधन चाहेर पनि प्रयोग गर्न नपाइरहेका सङ्ख्या धेरै छ भन्ने कुरालाई पनि संकेत गरेको छ । यसले यो सेवा आवश्यक पर्नेहरूले अन्य विधि अपनाइरहेका अथवा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या धेरै रहेको हुनसक्ने संकेतसमेत गरेको छ ।

पछिल्लो सर्वेक्षणले १५ देखि ४९ वर्षका विवाहिता महिलाले परिवार नियोजनको कुनै न कुनै साधन वा विधि प्रयोग दरमा केही वृद्धि भएको देखाएको छ । स्वास्थ्य सर्वेक्षणमा २०१६ मा यस्तो प्रयोग दर गर्ने ५३ प्रतिशत रहेकामा सन् २०२२ को सर्वेक्षणमा ५७ प्रतिशत पुगेको देखिएको छ। यसले यस क्षेत्रमा केही सकारात्मक इन्डिकेटरगरेको छ।

छैटौँ स्वास्थ्य सर्वेक्षण हिमाल, पहाड, तराईका सबै भूगोल तथा सातै प्रदेशका १३ हजार सात सय ८६ घरधुरीमा गरिएको थियो । स्वास्थ्यका नीति निर्माण तय गर्न स्वास्थ्य सर्वेक्षणको नतिजालाई गतिलो विश्वासिलो आधारका रूपमा लिइन्छ ।

सन् १९९६ देखि नेपालमा विभिन्न दातृ निकायको आर्थिक एवं प्राविधिक सहयोगमा प्रत्येक पाँच वर्षको अन्तरालमा स्वास्थ्य सर्वेक्षण गरिँदै आइएको छ ।

सर्वेक्षणले विवाहिता महिलाका बीचमा सबैभन्दा बढी लोकप्रिय आधुनिक साधन वा विधिमध्ये बन्ध्याकरण नै देखाएको छ । सन् २०१६ मा पनि बन्ध्याकरण नै थियो । यसपछि सुइ र इम्लान्ट छन् । अझै पनि १५ प्रतिशत महिलाले परिवार नियोजनको परम्परागत विधि अपनाइरहेका छन् ।

यसमध्ये १३ प्रतिशतले वीर्य बाहिर खसाल्ने विधि र दुई प्रशितले केही समय सम्भोग नगर्ने विधि अपनाइरहेका छन् । आर्थिक सर्वेक्षण २०७९÷८० का अनुसार आर्थिक वर्षको फागुनसम्ममा परिवार नियोजनका अस्थायी साधनको नयाँ प्रयोगकर्ताको सङ्ख्या चार लाख सात हजार पाँच सय ६६ पुगेको थियो ।

सहरीवासी हरेक किसिमले स्मार्टदेखिए पनि परिवार नियोजनको आधुनिक साधन र विधि प्रयोग गर्नमा पछाडि नै छन् । स्वास्थ्य सर्वेक्षणमा भनिएको छ, ‘विवाहिता महिलामा परिवार नियोजनको आधुनिक साधन वा विधिको प्रयोग सहरी क्षेत्र (४१) मा भन्दा ग्रामीण क्षेत्र (४७)मा बढी देखिएको छ । प्रदेशअनुसार गण्डकी प्रदेशमा ३५ र सुदूरपश्चिम प्रदेशमा ४७ सम्म रहेको छ । बढ्दो शिक्षा र घरपरिवारको सम्पन्नतासँगै आधुनिक साधन वा विधिको प्रयोग समान्यतया घट्दै गएको देखिन्छ ।

विवाहिता महिलामध्ये ६१ प्रतिशतले अरु बच्चा जन्माउन चाहँदैनन् र १७ प्रतिशतले कम्तीमा दुई वर्षसम्म बच्चा जन्माउन ढिलाइ गर्न चाहन्छन् । बच्चा जन्माउन रोक्न अथवा ढिलो गर्न चाहने महिलामा परिवार नियोजनको माग ७८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । सन् २०१६ मा यस्तो माग ७६ प्रतिशत थियो ।

सम्बन्धित समाचार