२०८३ बैशाख ५ गते , शनिबार

बाजा संरक्षण गर्न सिक्किममा नौमती सांस्कृतिक धरोहर केन्द्र निर्माण गरिने

sajilo news
परिवेश मिडिया
२०८० असार १० गते , आईतबार
बाजा संरक्षण गर्न सिक्किममा नौमती सांस्कृतिक धरोहर केन्द्र निर्माण गरिने

सिक्किम । नेपालीहरुको पारम्परिक नौमती संस्कृतिको संरक्षण र सम्बर्धन गर्न सिक्किम सरकार जुटेको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्धेश्यले राज्य सरकारले आठ करोड़ २१ लाख रुपैंयाको लागतमा नौमती सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने भएको हो ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले ले विधिवत शिलान्यास गर्दै विश्वमै पहिलो पटक सिक्किममा नौमती सांस्कृतिक धरोहर निर्माण हुन लागेको बताए । उनले भने- यो धरोहर केन्द्र विश्वकै लागि एउटा अनुसन्धान केन्द्र बन्ने छ । यसले नेपालीहरुको बाजाहरुको संरक्षण मात्र नगरी विश्वलाई नै पर्यटकीय गन्तब्य बनाउने छ ।

१.६७ एकड जमिनमा स्थापना हुने यो संस्कृतिक धरोहर केन्द्र आफ्नो प्रकारको विश्वको पहिलो नौमती संरक्षण केन्द्र हुने दावी गरिएको छ । परियोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री तामाङले यसको भूमि पुजन पनि गरेका थिए ।

आगामी दुई वर्षमा निर्माण कार्य पूरा हुने बताइएको यस नौमती धरोहर सांस्कृतिक केन्द्र निर्माणको निम्ति सिक्किम सरकारको सांस्कृतिक एवम् धरोहर मामिलाले पहिलो चरणमा आठ करोड़ २१ लाख रुपैंया बजेट बिनियोजन गरेको बताइएको छ । परियोजना अन्तर्गत कूल आठवटा दुई तले भवन निर्माण हुनेछ जसमा मनोरञ्जन तथा व्याख्यान केन्द्र, पाँचवटा लाइभ वर्कशप, रेस्टुराँ, एकसाथ एक सय ५० जना अटाउने बहुउद्धेश्यीय हल, इण्डोर स्पोर्ट्स कक्ष, यूथ होस्टेल, ओपन एयर थिएटर, कार पार्किङ, पारम्परिक प्रवेश द्वार, रेन वाटर हार्भेस्टिङ ट्याङ्क आदि निर्माण गरिने बताइएको छ ।

तीन दिवसीय गेजिङ जिल्लाको भ्रमणका क्रममा मुख्यमन्त्री पीएस गोलेले पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा नौमति सांस्कृतिक तथा धरोहर केन्द्र निर्माण गर्ने बताएका हुन् । एउटा संग्रहालय सहित पाँचवटा विभिन्न प्रशिक्षण कक्ष रहने धरोहरमा काठ र बाँसबाट वाद्यवादन तयार पार्ने साथै मुर्ति कलाको पनि प्रशिक्षण दिइने संस्कृति विभागकी मुख्य अभियान्ता प्रज्ञा सिंहले जानकारी दिइन् ।

प्रत्येक जात-जातिको चिनारी, धरोहर तथा विरासतको संरक्षण गर्दै सिक्किमलाई सबैको आकर्षणको केन्द्र बताउन वर्तमान सरकार लागि परेको मुख्यमन्त्री गोलेको भनाई छ । उनले सिक्किम कला र संकृतिको पनि धनी भएको उल्लेख गरे । अनुसूचित जातिलाई गर्व गर्नसक्ने बनाउन वर्तमान सरकार लागेको मन्त्री गोलेको भनाई छ ।

उनले अनुसूचित जातिलाई वर्तमान सरकारले संरक्षण गर्दै सबै जाती र भाषा तथा कलाको संरक्षणका लागि एसकेएम पार्टी अग्रसर रहेको धारणा ब्यक्त गरे । उनले अघिल्लो सरकारले २५ वर्षसम्म गर्न नसकेको काम वर्तमान सरकारले चार वर्ष भित्र पुरा गरेको मुख्यमन्त्री गालेको भनाई छ । उनले सिक्किमेली नेपालीलाई पटक-पटक लाग्ने गरेको विदेशीको कलङ्कलाई पनि वर्तमान सरकराले सधैंका लागि हटाउने कार्य गरेको ठोकुवा गर्दै यस अघिको सरकारले यसलाई हटाउने कार्य नगरेर केवल राजनीतिक मुद्दा बनाउने काम गरेको आरोप लगाए ।

सम्बन्धित समाचार