दिव्या स्पिच एण्ड हेयरिङ रि–हेबिलिटेसन सेन्टरको शाखा दमकमा
बिर्तामोड । अटिजम भएका बच्चाहरुलाई थेरापी गराउने सेन्टरको रुपमा स्थापित दिव्या स्पिच एण्ड हेयरिङ रि–हेबिलिटेसन सेन्टरले झापाको दमकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सेन्टरले शुक्रबार एक कार्यक्रमका बिच दमक शाखाको उद्घाटन गरेको हो ।
दमकको पशुहाटमा रहेको सेन्टरको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले उद्घाटन गरेका थिए । सेन्टरमा अटिजम भएका बच्चाहरुलाई स्पिच र अकुपेशनल थेरापी गराइने सञ्चालक राजु यादवले जानकारी दिए । यादवका अनुसार त्यस्ता बच्चाहरुलाई दक्ष प्रशिक्षकहरुबाट दैनिक एक घण्टा ३० मिनेटका दरले थेरापी गराइनेछ । राम्ररी कान नसुन्ने तथा बोल्न नसक्ने बच्चाहरुलाई समेत सुनाई र बोलाईमा सहजीकरण गरिने यादवले बताए ।
पछिल्लो समय विभिन्न कारणले बच्चाहरुमा अटिजमको समस्या बढिरहेको तथ्याङ्कले देखाएको छ । तर अभिभावकहरुले बच्चाको समस्या समयमा नै थाहा नपाउँदा समस्या जटिल बन्दै जाने सञ्चालक यादवले बताए । बोल्ने उमेरमा बच्चा बोलेन भने, आँखा जुधाएन भने, दोहोरो संवाद गरेन भने तत्काल डाक्टरलाई देखाउनु पर्ने यादवले सुझाए ।
दिव्या स्पिच एण्ड हेयरिङ रि–हेबिलिटेसन सेन्टर यस अघि नै बिर्तामोडको भद्रपुर रोडमा सञ्चालित छ । सेन्टरमा ५० जना बच्चाहरु रहेको अर्का सञ्चालक हरि खनालले जानकारी दिए ।