२०८३ बैशाख ६ गते , आईतबार

सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती बिषयक अभिमुखीकरण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १७ गते , बुधबार
सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती बिषयक अभिमुखीकरण सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक मन्दीका कारण सहकारीहरुले विभिन्न समस्या भोगिरहेको समयमा वुधबार सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

झापा जिल्ला सहकारी संघ लिमिटेड, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड र जिल्ला कृषि सहकारी संघ लिमिटेड झापाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहकारीहरुको वर्तमान अवस्थाको बारेमा जानकारी दिइएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का सञ्चालक सदस्य धनश्याम अधिकारीले बाहिर हल्ला चलेजस्तो झापाका सहकारीहरुमा ठूलो संकट नआएको बताए ।

उनले केहि सहकारीहरुमा देखिएको समस्या समाधानका लागि सहकारी अभियान लागिरहेको जानकारी दिए । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर सहकारीहरु बन्द भएको राजधानीलगायत अन्य ठाउँको जस्तो समस्या झापामा नभएको अधिकारीले बताए । केहि छिटफुट समस्या भएपनि समाधान गर्नै नसकिने खालको नभएको उनको भनाई छ । सहकारीहरु विधिसम्मत ढंगबाट सञ्चालन गर्नुपर्ने अधिकारीले सुझावसमेत दिए ।     

झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गणेश ढकालले विभिन्न कारणले जिल्लाका केहि सहकारीहरुमा समस्या आएको भएतापनि समाधानका लागि संघ लागि रहेको बताए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य र सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाका संयोजकसमेत रहेका ढकालले सहकारीहरुको एकीकरणलाई प्राथमिकता दिएर प्रारम्भिक संस्थाहरुलाई मजबुत बनाउने तर्फ अभियान केन्द्रित रहेको जानकारी दिए । सहकारीका सदस्यहरुलाई आफुले गरेको बचत फिर्ता गर्ने कुराको सुनिश्चितता संघले गर्ने ढकालले प्रतिबद्धता जनाए ।

सहकारी अभियानलाई सफल बनाउन भन्दै अनाधिकृत रुपमा निर्माण भएका संरचनालाई केन्द्रिय महासंघको बैठकले समेत प्रोत्साहन नगर्ने निर्णय गरेको बताउँदै उनले पछिल्लो समय सहकारीहरुमा देखिएको समस्याका बारेमा सदस्यहरुलाई जानकारी गराइने बताए ।

कार्यक्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको उत्तर दिँदै ढकालले सहकारीका सञ्चालकहरुले लिएको कर्जा मुष्ठ रुपमा असुल गरि सदस्यहरुको बचत फिर्ताका लागि आह्वान गरिएको र थुप्रै सहकारीहरुमा त्यस अनुरुपको प्रगति भएको बताए । सहकारी अभियानमा समस्या आउनुमा गलत सदस्यको पनि भूमिका हुने उनले बताए । ऋणीहरु बैंकको किस्ता पात्रोमा चिन्ह लगाएर समयमा तिर्ने तर सहकारीको चाँहि समयमा तिर्नु पर्दैन भन्ने सोँचले पनि केहि समस्या आएको उनको भनाई छ ।

पछिल्लो समय केहि अराजक व्यक्तिहरुले सहकारीका कर्मचारीहरुलाई हातपात गर्न थालेको भन्दै ढकालले दुख व्यक्त गरे । केहि व्यक्तिहरुले वित्तीय संस्थाको ऋण तिर्नु पर्दैन भनेर चलाएको अभियान र उनीहरुले बनाएको अराजक समूहका कारण कर्मचारीहरु ऋण असुलीमा जाँदा शारीरिक पीडा भोग्नु परेको उनले बताए ।

सहकारीको वित्तीय जोखिम न्यूनिकरण र सदस्यको बचत सुरक्षाको सुनिश्चितता गर्दै सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोषतत्काल स्थापना हुनुपर्ने लगायत १३ बुँदे मागपत्र कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय झापामार्फत ध्यानाकर्षण गराएको प्रदेशि तथा जिल्ला सहकारी संघका सचिव तथा कार्यक्रम सञ्चालक भवानीप्रसाद दंगालले जानकारी लिए । कुनैपनि वित्तीय संस्थाले बचतकर्ताहरु एकैपटक बचत फिर्ता माग्न गए दिन नसक्ने तर नियमित कारोबार गरिरहेको अवस्थामा बचतकर्ताको पैसा सहकारीहरुले नअड्काउने उनले बताए ।

झापा जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझाले बैंक सिकेर खोल्ने तर सहकारी खोलेर सिक्ने भएकालेपनि समस्या आएको बताए । राज्यले सहकारीमा बिचौलिया प्रवेश गराएको र अन्य वित्तीय क्षेत्रमा जस्तै सहकारीको नियामक निकायमा पनि दक्ष कर्मचारी नहुँदा समस्या भएको ओझाले बताए ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन दंगाल र जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सहसचिव कमलकुमार घिमिरेले सहकारीहरुको वर्तमान अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सहभागी सञ्चारकर्मीहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कारोना महामारीको समयमा सहकारी संघले पत्रकारहरुका लागि उपलब्ध गराएको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए । सहकारी ठूलो क्षेत्र भएकाले अभियानको मर्म अनुरुप सहकारीहरुले तल्लो स्तरमा पुर्याएको सेवाको अध्ययन र विश्लेषण गर्न सञ्चारक्षेत्रसँग सहकार्य गर्न आग्रह गरे । सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारीले महासंघको पत्रकार सहारा उपचार कोषलाई सहयोग गर्नपनि आग्रह गरे ।  

कार्यक्रममा कृषि सहकारी संघकी केन्द्रिय उपाध्यक्ष मिनाकुमारी ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने र जिल्ला सहकारी संघ झापाका अध्यक्ष ढकालले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको उत्तर दिएका थिए । झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी कार्यक्रममा सहभागिहरुलाई स्वागत गरेर बाहिरिएका थिए ।

        

सम्बन्धित समाचार