२०८३ बैशाख ५ गते , शनिबार

घटेन नवजात शिशु मृत्युदर, २१ प्रतिहजार कायमै

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १५ गते , सोमबार
घटेन नवजात शिशु मृत्युदर, २१ प्रतिहजार कायमै

काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको पाइएको छ । ५ वर्षमुनिका बालबालिका तथा १ वर्षसम्मका शिशुको मृत्युदर बिस्तारै घट्दै गए पनि नवजात शिशुको मृत्युदर अझै पनि उच्च छ ।

दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने सरकारले प्रतिबद्धता जनाएको छ ।

आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७९÷०८० को तथ्यांक अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक बर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ ।

विज्ञहरूका अनुसार जुन रूपमा ५ वर्षमुनिका बालबालिकाको र १ वर्षमुनिका शिशुको मृत्युदर घटिरहेको छ, त्यसअनुरूप नवजात शिशुको मृत्युदरमा कमी आउन नसक्नु चुनौतीको विषय बनेको छ ।

जबकी, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो । सन् २०११ मा २८ दिनभित्र जन्मिएका नवजात शिुको मृत्यु ३३ थियो ।

अहिलेकै क्रम जारी हुने हो भने नवजात शिशुको मृत्युदर घटाउने दिगो विकासको लक्ष्य हासिल गर्न निकै कठिन देखिन्छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक कुमार लाल सम्रगमा बालबालिकाको मृत्युदरमा कमी ल्याउन सकेपनि अझै नवजात शिशु मृत्यु कार्यक्रम प्रभावकारी बनाउन नसकिएको बताउँछन् ।

सबैभन्दा बढी बालबालिकाको मृत्यु एक महिनाभित्र नै भइसक्छ । त्यसभित्र पनि ४८ घन्टाभित्र झण्डै ८५ प्रतिशतको हाराहारीमा मृत्यु हुने देखिन्छ, लालले भने, ‘सेवाको पहुँच बढ्यो । तर, गर्भावस्था र सुत्केरी हुने उच्च गुणस्तरको सेवा दिनमा चुकिरहेका छौं ।

विज्ञका अनुसार नवजात शिशुको मृत्युदर धनी वर्गको परिवारको तुलनामा न्यून आर्थिक अवस्था भएका मानिस र कम उमेरका आमामा बढी समस्या देखिन्छ ।

गर्भवस्था र सुत्केरी हुने बेलामा देखिने जटिलता साथै चुनौती र नवजात शिशुमा देखिने समस्यालाई नै समाधान हुने गरी प्राथमिकता निर्धारण गरेका छौं, लालले थपे, ‘नवजात शिशुको मृत्युदर घट्न सकेको छैन । यसतर्फको सेवा विस्तार गर्नुपर्ने अबको बाटो हो ।

उनका अनुसार जनचेतनाको कमी, सुत्केरी गराइने स्थान सुविधायुक्त नहुनु, औसतभन्दा सानो बच्चा जन्मिनु र रक्तअल्पताजस्ता कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ ।

पूर्व स्वास्थ सचिव डा. किरण रेग्मी पछिल्ला बर्ष स्वास्थ्य क्षेत्रको भौतिक पक्षमा उल्लेख्य वृद्धि भएपनि अझै पनि सेवा प्रवाह गुणस्तरीय नहुँदा नवजात शिशुको मृत्युदर घट्न नसकेको बताउँछिन् ।

अहिले पनि गाँउघरमा महिलाले पुरुषले खाएको खानेकुरा खाने प्रचलन कायम नै छ । जसले गर्दा गर्भावस्थामा यथेष्ट मात्रामा पोषण पुगेको हुँदैन । त्यसैले बच्चा कमजोर जन्मिने हुन्, डा. रेग्मी भन्छिन्, ‘यस्ता नवजात शिशुको केही घन्टाभित्र नै मृत्यु हुन्छ ।

डा. रेग्मीका अनुसार अस्पताल वा घरमै नवजात शिशुमा संक्रमण फैलिएको कारण नै बढी मृत्यु हुँदै आएको छ ।

सरकारले आमा र नवजात शिशुमा लगानी गरिरहेको छ । तर, त्यसअनुसारको प्रतिफल पाउन सकिएको छैन । सरकारले हरेक बर्ष हेलिकप्टरबाट उद्दार गर्ने भनेर खर्च छुट्याइरहेको हुन्छ, डा. रेग्मी भन्छिन्, ‘दूरदराजमा सुविधासम्पन्न डेलिभरी सेवा र जनशक्ति उपलब्ध गराउने हो भने आमा र बच्चाको स्वास्थ्य सेवा नपाएर मृत्यु हुने थिएन ।

विज्ञहरु पालिकास्तरमै प्रभावकारी संरचना र जनशक्ति पुर्‍याउनुपर्नेमा जोड दिन्छन् । कम्तीमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी प्राविधिक रूपमा दक्ष नहुँदा नवजात शिशुको जीवनरक्षा प्रभावकारी बन्न सक्दैन । स्वास्थ्य संस्थामा कम्तीमा पनि एमडीजीपी गरेका डाक्टर र पब्लिक हेल्थमा स्नातक जनशक्ति भए गुणस्तरीय सेवा दिन सक्ने उनी बताउँछिन् ।

सम्बन्धित समाचार