कृतिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेका बुढामगरलाई मन्त्री किराँतीद्वारा स्वागत
बिर्तामोड । कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हरिबहादुर बुढामगरलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगर जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
बुढामगरले बेलायती सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो । उनले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।