‘कोअपरेटिभ एलाइन्स अफ झापा’ गठनले सहकारीप्रति नकारात्मक धारणा बढ्न सक्छ : नेफ्स्कून सञ्चालक अधिकारी
बिर्तामोड । सहकारी विरुद्धको अभियानलाई निस्तेज पार्ने भन्दै झापामा हालै गठित ‘कोअपरेटिभ एलाइन्स अफ झापा’ ले सहकारीप्रति नकारात्मक धारणा बढ्न सक्ने बताइएको छ । सहकारी ऐनमा व्यवस्था नै नभएको संस्था गठन गरिनुले सहकारीप्रति नकारात्मक धारणा बढ्न सक्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारीले बताएका छन् ।
सञ्चालक अधिकारीले यस्तो अवैध गतिविधीले सहकारीप्रति आम मानिसमा नकारात्मक धारणा बन्न सक्ने बताएका हुन् । परिवेश मिडियासँग कुरा गर्दै अधिकारीले कोअपरेटिभ एलाइन्स अफ झापा गठन भएको आफुले सुनेको भन्दै यसले सहकारीप्रति नेगेटिभ भाइरल बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘संघ सहकारीप्रति आम विश्वास कसरी बढाउने भनेर लागिरहेको बेलामा यसले अविश्वास सिर्जना गर्न सक्ने भयो,’ उनले भने, ‘एउटा त साना सहकारीहरु डराउने भए हामी त त्यसमा सहभागीपनि भइएन भन्ने अर्को के हो भने यो खालको एलायन्स बनाउन भेला बैठकहरु आयोजना गर्दा साँच्चिकै सहकारीहरु संकटमा छन् की क्याहो भन्ने बुभ्mने भए पब्लिकले ।’ यसले साँच्चै सहकारीमा समस्या आयोकि क्याहो भनेर बचत फिर्ता बढ्न सक्ने भन्दै त्यसमा ध्यान दिनुपर्ने अधिकारीले बताए । उनले या ती संस्थाहरुमा समस्या आइसक्यो वा आउने चरणमा छन् आफूले बुभ्mन नसकेको उनको भनाई छ ।
एलायन्स टाउको बिनाको मान्छे जस्तो भयो : भवानीप्रसाद दंगाल
प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले कोअपरेटिभ एलायन्स अफ झापालाई ऐन विपरित गठन भएकोले टाउको बिनाको मान्छे भन्दै मुर्कुटाको संज्ञा दिएका छन् । जिल्ला सहकारी संघ वैधानिक फोरम भएको र शुद्धिकरण थाल्ने भए संघ मार्फत थालिनुपर्नेमा उनले जोड दिए । कुनै संस्थामा समस्या भए संघ मार्फत समाधानमा लाग्नु पर्ने उनको भनाई छ । उनले वैधानिक संस्था हुँदा हुँदै विकल्प खोजिनु दुखद भएको बताए ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले एलायन्स गठन गर्ने बिषय सहकारी ऐनमा उल्लेख नभएकाले एलायन्स लुज फोरमको रुपमा गठन गरिएको हुनसक्ने बताए । छलफल गर्न सल्लाह गर्न संगठन कै रुप दिन जरुरी नभएको भन्दै ढकालले संगठन बनाएर सदस्य विस्तार गर्दै कार्यक्रम गर्नेसम्मको कुरा हो भने त्यो गलत भएको बताए ।
सहकारीको राजनीतिमा कसरी स्पेस लिन सकिन्छ भन्ने अनुमान गर्न सकिने भन्दै ढकालले निर्वाचनको समयदेखि नै केहि साथीहरुसँग असन्तुष्टि भएको तर फेरी अर्को निर्वाचनपनि आउने भन्दै धैर्य गर्नुपर्ने बताए । जिल्ला सहकारी संघले काम गरेन भन्ने केहि साथीहरुको गुनासो सुनिएको तर यो सालमात्र संघको आफ्नै खर्चमा करिब १ हजार सहकारीकर्मीको सहभागितामा विज्ञ ल्याएर गोष्ठी सम्पन्न गरेको अध्यक्ष ढकालले जानकारी दिए । अभियान बलियो बनाएर जानुको साटो यसरी छुट्टाछुट्टै समूह बनाएर जाँदा अहिलेको समस्यामा केन्द्रित हुन नसकिने उनको भनाई छ ।
संघलाई दबाब दिन एलायन्स गठन भएको हो : रामचन्द्र उप्रेती
सहकारी समस्या समाधानका लागि सहकारीका संघसंस्थाले सहकारी अभियानले कतिपय बिषयमा आफूलाई सच्याएर समाधान गर्नुपर्ने र कतिपय बिषयमा संगठित भएर प्रतिवाद गर्नुपर्ने सहकारी अभियान्ता तथा एलायन्सका सदस्य रामचन्द्र उप्रेतीले बताए । ‘सहकारीबाट लगेको ऋण मान्छेले नतिर्ने, आन्दोलन गर्ने, कर्मचारीलाई घरमा बोलाएर कालोमोसो दल्ने कुटेर पठाउने समस्या बढेको छ तर अभियान बोल्दैन, सहकारीका आठवटा संघ छन्, जिल्ला संघ छ, कोनी के छन् कोहि चुइँक्क बोल्दैन,’ उनले भने, ‘हामी सहकारी भित्रपनि बेतिथीहरुको चाङ छ, त्यसलाई सच्याउनु पर्छ, करेक्सन हुनुपर्छ, हामी सच्चिन्छौँ यो बेठिक हो । जजसले कमजोरी गरेका छौँ तिनीहरुले सच्याउने तिर लागौँ, यो यो काम गरौँ भन्ने हाम्रो कुरा आएन ।’
बचत संकलन नभएपछि ढिलो चाँडो सबै समस्यामा पर्न सक्छन् त्यो बेलामा सबै एक ठाउँमा उभिएर आवाज बोलौँ, सहकारीहरुले गलत गरेका छैनन्, लगानी भएको पैसा उठेको छैन तर त्यो डुब्दैन संस्थाले तिर्छ भनेर भन्न कोहि एक ठाउँमा नउभिएको उप्रेतीको गुनासो छ । उनले जुन दिन यो काम संघले गर्छ त्यो दिन एलायन्सको काम सकिने प्रष्ट्याए । एलायन्स लुज फोरमको रुपमा गठन भएको र जुनदिन वैधानिक रुपमा जिल्ला संघले ती काम गर्ने सामथ्र्य राख्छ त्यो दिन यसको काम नहुने उप्रेतीले बताए ।
साना सहकारीहरुलाई एलायन्समा किन सामेल नगराइएको भन्ने प्रश्नमा उप्रेतीले साना सहकारीपनि समेटिएको र आफ्ना गतिविधी पारदर्शी ढंगबाट सञ्चालन गर्ने संस्थालाई समेट्दै लैजाने बताए ।
नगठित एलायन्समा रामचन्द्र उप्रेती, टसबहादुर प्रधान, मोहन शिवाकोटी, रुद्रमणि श्रेष्ठ, दुर्गा खतिवडा, महेन्द्र गिरी र खोमप्रसाद बगाले रहेका छन् ।