दमकस्थित बाल अस्पताललाई कांग्रेस नेता मिनेन्द्र रिजालद्वारा ५० लाख सहयोग
बिर्तामोड । झापाको दमकस्थित बाल अस्पताललाई नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग गरेका छन् । हालै सञ्चालनमा आएको काठमाण्डौ ईन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अस्पताललाई उनले ५० लाख सहयोग गरेका हुन्।
आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले शनिबार बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरे।
रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रिजालले बाल अस्पताललाई सहयोग पुर्याउन आफूले स्वेच्छिक सहयोग गरेको बताए।
उनले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले त्यसअघि अस्पतालको स्थलगत निरीक्षणसमेत गरेका थिए। सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ।
कार्यक्रममा डा. कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुर्याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक-एक वटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको सो अस्पतालमा बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रूपमा यसले सेवा पुर्याउँदै आएको छ।