नक्कली कागजात बनाएर मोटरसाइकल बिक्री गर्ने लिम्बू पक्राउ
बिर्तामोड । मोटरसाइकलको नक्कली कागजात बनाएर बिक्री गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापा हल्दिबारी गाउँपालिका १ का ४४ बर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।
मंगलबार प्रहरीले अर्जुनधारा नगरपालिका ३, खुदुनाबारीबाट लिम्बूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लिम्बूको साथबाट प्रहरीले ब्लुबुकसहित बाग्मती प्रदेश ०२–०३८ प ३१६३ नम्बरको केटीएम डुक मोटरसाइकल १ थान, बाग्मती प्रदेश ०२–०३६ प १६५३ नम्बरको केटीएम डुक मोटरसाइकल १ थान र बाग्मती प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सीसी को पल्सर मोटरसाइकल १ थान प्रहरीले बरामद गरेको जनाएको छ ।
त्यस्तै न्यु धनुषा ट्रेड्रसको पान बिल ८ थान ८, सोहि कम्पनीको स्टाम्प थान १ र स्टाम्प प्याड थान १, न्यु धनुषा ट्रेडर्सको खरिद बिक्रि सम्झौता पत्र १ थान र जगतबहादुर लिम्बु र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र १ थानसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।