ओरालो लाग्दै शेयर बजार
काठमाण्डौ । अर्थमन्त्रीमा कांग्रेस नेता डा. प्रकाशशरण महत नियुक्त भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । अर्थमन्त्री नहुँदा अन्योलमा रहेका सेयर लगानीकर्ता नयाँ अर्थमन्त्री आएपछि पनि आश्वस्त हुन नसक्दा लगातार दोस्रो दिन पनि सेयर बजारमा गिरावट भएको हो ।
साताको दोस्रो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ । व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङसहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक १.२१ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो ।
घट्दो बजारमा कारोबार रकम पनि घटेको छ । गत सातको अन्तिम दुई दिन १ अर्ब तल झरेको कारोबार रकम आइतबार बढेर १ अर्ब २० करोड नाघेको थियो । तर, सोमबार बजारमा कारोबार रकम घटेर पुनः ९२ करोड २ लाख रुपैयाँमा झरेको छ । २७ हजार ४५४ वटा कारोबारमा २८ लाख २९ हजार ४२६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।