दीपकको गोलमा बराबरीसँगै नेपाल फाइनलमा
उपाधिका लागि नेपाल र लाओसले प्रतिष्पर्धा गर्ने
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।
नेपाल १–० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् । भुटानसँग १–१ को बराबरीले नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।
बराबरीका वावजुद भुटान भने घर पर्केको छ । यसअघ १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरे । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् ।
यसअघि खेलको १९औं मिनेटमा भुटानका चोन्चे ग्याल्सेनले रोहित चन्दलाई बिट गरेर राम्रो अवसर सिर्जना गरेका थिए । तर त्यो बल अनन्त तामाङले पोष्ट अगाडिबाट क्लियर गरेका थिए ।
नेपालले ४५औं मिनेटमा नवीन लामाले हानेको कर्नरमा पुजन उपरकोटीको हेड पासमा सनिस श्रेष्ठले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।
प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।