प्रतिवेदनमा हस्ताक्षर नगर्ने विव्यस अध्यक्ष हटाउन माग
बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष इश्वरी दाहाललाई पदबाट हटाउन माग गरिएको छ । विद्यालयलाई माग गरिएको प्रतिवेदनमा हस्ताक्षर नगरेका दाहाललाई हटाउन व्यवस्थापन समितिका बहुमत सदस्य र अभिभावकहरुले माग गरेका हुन् ।
सरस्वती आधारभूत विद्यालयको जग्गामा खनिएको माछा पोखरी र निर्माण गरिएको चतुरमान स्मृति कभर्ड हलको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले हल्दिबारी गाउँपालिकालाई पत्राचार गरेपछि विद्यालयले पालिकालाई पठाएको प्रतिवेदनमा विव्यस अध्यक्ष दाहालले हस्ताक्षर गरेका थिएनन् । २०७९ माघ २० गते चनं. आइटीएच–७९८०–३४४४९ मार्फत अख्तियारको कार्यालयले हल्दिबारी गाउँपालिकालाई रायसहितको छानविन प्रतिवेदन र आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी पठाउन भन्दै पत्राचार गरेको थियो । सोहि पत्रको आधारमा विद्यालयले एक प्रतिवेदन तयार पारी गाउँपालिकाको शिक्षा शाखामा पठाएको छ । तर, उक्त प्रतिवेदनमा विव्यस अध्यक्ष दाहालले हस्ताक्षर गरेका थिएनन् ।
गाउँपालिकालाई पठाइएको प्रतिवेदनमा दाहालले हस्ताक्षर नगरेपछि संस्थाको हित विपरित भएको ठहर गर्दै विद्यालय व्यवस्थापन समितिको बहुमत ७ सदस्य र १२६ जना अभिभावकको हस्ताक्षरसहित अध्यक्ष दाहाललाई पदबाट हटाउन माग गरिएको विव्यस पूर्व विव्यस अध्यक्ष खकेन राजवंशीले एक विज्ञप्ती जारी गरी जानकारी गराएका छन् । फागुन २२ गते नै शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई ज्ञापन पत्र बुझाएपनि हालसम्म कुनै सुनुवाई नभएको भन्दै उनले आपत्ति जनाएका छन् ।
आर्थिक बर्ष ०७६÷७७ मा हल्दिबारी गाउँपालिकाले माछामा आत्म निर्भर रहँदै जिल्ला भर माछा बिक्री गर्ने कार्यक्रम ल्याएपछि सामुदायिक विद्यालयलाईपनि उत्पादनसँग जोड्ने भन्दै सरस्वती आविको ०७६ पुष ९ गते बसेको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक स्टाफको संयुक्त बैठकले विद्यालयको नाममा रहेको कित्ता नम्बर २९८ र २९९ को ३ विगाह क्षेत्रफल जग्गामा माछा पोखरी निर्माण गर्ने निर्णय गरेको राजवंशीले जानकारी दिएका छन् ।
सो क्षेत्रको खेलकुदको विकाससँगै विद्यालयको आम्दानीको स्रोतसमेत बढाउने उद्धेश्यले २०७६ चैत्र ९ गतेको विव्यसको बैठकले चतुरमान स्मृति कभर्डहल निर्माणका लागि विद्यालयको जग्गा उपलब्ध गरकाएको र सोबाट हुने आम्दानी विद्यालयको खातामा जम्मा गर्ने निर्णय भएको पूर्व विव्यस अध्यक्ष राजवंशीले बताए । सो भवन निर्माणका लागि सांसद क्षेत्र विकास कोषको ३८ लाख रुपैँया लगानी भएको छ । त्यस्तै प्रदेश सरकारको ८ लाख रुपैँयाका लगानीमा खेल मैदानसमेत निर्माण भइ सञ्चालनमा आइसकेको छ ।