महोत्सवमा १ रुपैँयामा मेजमान
बिर्तामोड । चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउँदा तपाईले कति रुपैयाँ तिनु हुन्छ । न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि चियाको मूल्य हामीले तिर्दै आएका छौं । तर, एक रुपैयाँमा एक कप चिया पाइन्छ भन्दा आश्चर्य मान्नु पर्दैन । झापाको बिर्तामोड नगरपालिका २ स्थित प्रभु राम चौकमा फागुन ५ गतेबाट शुरु भएको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा आउने दर्शकलाई मेलाको छुट्टै रौनकता प्रदान गरिएको छ । महोत्सवमा आउने अवलोकनकर्तालाई एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवलाई थप आकर्षक बनाउने प्रयत्न गरिएको हो ।
‘रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित अर्जुनधारा–६ मा रहेको सीता चिया तथा घरेलु मसला उद्योगले एक रुपैयाँ मै ‘मेजमान’ नामक चिया बितरण गरिरहेको छ ।
नेपालको चिया विश्व सामु चिनाउने उद्देश्यले व्यवसायीद्वय चक्र कार्की र नरेश सापकोटाले चिया उपलब्ध गराउने गरेका छन् । सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराउन थालेसँंगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गर्न शुरु गरेका छन् ।
मिसावट रहित विना फ्लेवरको चिया एक रुपैयाँमा नै उपलब्ध गराउन थालेपछि भारत, बंगलादेश र पाकिस्तानबाट मेलामा सहभागीताका लागि आएकाहरुले समेत नेपालको चियाको चुस्की लिँदै रमाईरहेका छन् ।
बिर्तामोडको शनिश्चरे रोडमा मोबाइल व्यवसाय सञ्चालन गरेर सफल व्यवसायको रुपमा स्थापित भइरहेका सापकोटा नयाँ व्यवसाय थप गर्ने सोँच बनाइरहेका बेला चिया तथा घरेलु मसला उद्योग सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । सेवासँगै व्यवसायलाई जोडेर उनीहरुले अहिले नेपाली चियालाई प्रर्वद्धन गरिरहेका छन् ।
बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएपछि उनीहरुले महोत्सवमा आउने अवलोकनकर्तालाई मेजमान स्वरुप चिया उपलब्ध गराएर अवलोकनकर्ताहरुको मन जितिरहेका छन् । विदेश गएर गरिने दुःख भन्दा आफ्नै ठाउँमा उत्पादन भएको कृषि जन्य बस्तुको वजारीकारण गर्दै विश्व बजारमा नेपाली चियाको गुणस्तर चिनाउन सके त्यसैबाट मनग्य विदेशी मुद्रा आर्जन गर्न सकिने सापकोटाको भनाई छ ।
नेपालमा उत्पादित चिया विश्व बजारमा पुग्छ तर यहाँ उत्पादित चियाको शुद्धता मिसावटका कारण हुँदैन उनले भने – विदेशबाट आएका नागरिकले महोत्सवमा एक÷एक कप चिया खाए भनेमात्रै पनि यहाँको चियाको गुणस्तर थाहा पाउने छन् र भोलिका दिनमा नेपाली चिया विश्व बजारमा खोजिने छ ।