२०८३ बैशाख ५ गते , शनिबार

एनसेलले गर्यो बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को मुख्य प्रायोजन

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १ गते , सोमबार
एनसेलले गर्यो बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को मुख्य प्रायोजन

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को मुख्य प्रायोजन एनसेल आक्जियटा लिमिटेडले गरेको छ । महोत्सवको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा सेन्चुरी मसला, गोर्खा ब्रुअरी, सिग्नेचर लगायत अन्य प्रायोजक रहेको जानकारी दिइयो ।
सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने महोत्सव फागुन ५ देखि १५ गते सम्म चारपाने नजिकै महेन्द्र राजमार्ग उत्तर आयोजना हुनेछ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पर्यटन प्रवर्धन गर्ने, स्वदेशी बस्तुहरुको पहिचान गराउने, ब्यवसायीक सम्भावना क्षेत्रहरुलाई पहिचान गर्ने उद्धेश्यले आयोजित महोत्सवको सफलताको कामना गरे ।
आर्थिक मन्दी र कोरोना संक्रमणबाट थलिएको ब्यवसायीक क्षेत्रलाई चलायमान बनाउँदै ब्यापारीहरुको मनोबल उच्च बनाउन महोत्सव आयोजना गरिएको न्यौपानेले बताए । उनका अनुसार दोस्रो र तेस्रो मुलुकसँगको निर्यात ब्यापारलाई बढावा दिने, आन्तरिक व्यापारलाई चलायमान गराउने, आन्तरिक पर्यटन प्रवर्धन गर्ने, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सव स्थलमा विद्यार्थी, वृद्धवृद्धालाई निशुल्क प्रवेश दिइनेछ । अन्यलाई भने १ सय रुपैयाँ प्रवेश शुल्क लिइनेछ ।
महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतीय उद्योगी ब्यवसायीहरुको समेत सहभागिता रहने महोत्सवका संयोजक न्यौपानेले जानकारी दिए । महोत्सवबाट हुने आम्दानीले संघ संचालनमा सहयोग पुग्ने उनले बताए ।
१६ हजार १५० वर्ग मिटर क्षेत्रफलमा आयोजना हुने महोत्सवमा २५० स्टलहरु रहने छन । हालसम्म करिब १ सय ५० स्टल बुकिङ भइसकेको संयोजक न्यौपानेले जानकारी दिए ।
प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरि महोत्सव स्थललाई चार भागमा विभाजन गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । मूल प्रवेशद्वारमा मुक्तिचोकको आकृती राखिने, सेल्फी जोन निर्माण गरिने उनले बताए । महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, जुत्ताचप्पल, हस्तकला तथा तयारी पोषाक आदि महोत्सवमा राखिने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १ सँगको सहकार्यमा  महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवका संयोजक राजु न्यौपानेको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, उद्योग वाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष राजेन्द्र थापा, प्रायोजक संस्थाका प्रतिनिधिहरुलगायत वर्तमान उवा संघका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रम संघका सचिव कुशल खतिवडाले संचालन गरेका थिए । 

सम्बन्धित समाचार