२०८३ बैशाख ६ गते , आईतबार

यस्तो छ राजिव बस्नेत अपहरणको नालिबेली

sajilo news
पुष्प खड्का
२०७९ माघ १८ गते , बुधबार
यस्तो छ राजिव बस्नेत अपहरणको नालिबेली

बिर्तामोड । आफ्नो पूर्व व्यवसायीक साझेदारबाट मोटो रकम हत्याउन बिर्तामोडका एक युवाको अपहरण भएको खुलेको छ । बिर्तामोड३ भगवान चोकका कमल बस्नेतबाट मोटो रकम असुल गर्न अपहरणकारीले उनका २१ बर्षीय छोरा राजिवको अपहरण गरेको खुलेको हो ।

बस्नेतका पूर्व व्यवसायीक साझेदार बुद्धशान्ति घर भई भारतको मणिपुर बस्ने राजु भनिने राजकुमार भण्डारीको योजनामा राजिवको अपहरण भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । केहि बर्ष पहिले बस्नेत र भण्डारी सुन कारोबारमा साझेदार रहेको उनले बताए ।

सुन कारोबारमा साझेदारीमा काम गरेका बस्नेत र भण्डारी बिच बिस्तारै सम्बन्ध चिसिँदै गएपछि कारोबार नै बन्द भएको थियो । बस्नेतले व्यवसायको सम्पूर्ण लाभ लिएको, आफूलाई नदिएको र आफ्नो आर्थिक अवस्था नै तहसनहस पारिदिएको भण्डारीले आरोप लगाउन थाले । त्यसै बिचमा दुई बर्ष अघि झापा कै एक राजनीतिक नेताको घरमा दुई पक्षबिच छलफल गरेर बस्नेतले भण्डारीलाई एक करोड भारु दिने सहमति गरेर पैसा दिएका थिए । त्यसको केहि समयपछि भण्डारीले भूमिगत राजनीतिक दलका कार्यकर्तामार्फत बस्नेतसँग पुनः २० करोड रुपैँया असुल गर्ने कोसिस गरेका थिए तर स्थानीय मानिसहरुबाट दुई पक्षबिच लेनदेनको बिषय पहिला नै सकिएको बुझेपछि ती राजनीतिक दलका कार्यकर्ता पछि हटेका थिए । बस्नेतबाट सजिलै पैसा असुल गर्न नपाएपछि भण्डारीले अपहरणको योजना बनाएको प्रहरी स्रोतको भनाई छ ।

युवती प्रयोग गरि परिवारको एक सदस्यको अपहरण गर्ने योजना

करिब ५-६ महिना अघि अपहरणको योजना बनाउन भण्डारी आफ्ना सहयोगी सरद थापा मगरलाई लिएर नेपाल आएका थिए । मगर भारतीय भूमिगत समूह उल्फासँग आबद्ध रहेको प्रहरी स्रोतको दाबी छ । भण्डारी र नेपाली युवतीसँग विवाह गरेका मगरले आफ्नी श्रीमतीको चिनजान रहेको युवतीको बिर्तामोडस्थित कोठामा बसेर अपहरणको योजना बनाएका थिए । ती युवतीलाई परिवारको कुनै एक सदस्यको अपहरण गर्न उनीहरुले आग्रह गरेको र सो कार्य गरेबापत विदेश पठाइदिने आश्वासन दिएका थिए । ती युवतीहरुले पहिले बस्नेतकी श्रीमतीलाई अर्जुनधारा मन्दिरबाट अपहरण गर्ने योजना बनाएपनि सफल भएनन् । त्यसपछि कमल बस्नेतको पछि लाग्न थाले । निरन्तरको प्रयासबाट पनि उनलाई ट्र्यापमा पार्न नसकेपछि छोरीलाई अपहरण गर्ने योजना बनाए । तर, त्यो पनि सफल नभएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत छोरा राजिवसँग ती युवतीहरु साथी बनेका थिए । सामाजिक सञ्जालमार्फत साथी भएसँगै नजिकिएका युवतीले माघ ४ गते राजिवलाई अर्जुनधारास्थित सालबारीमा भेट्न बोलाए । सालाबारीमा राजिवसँग भेट भएपछि भोलिपल्ट माघ ५ गते श्रीअन्तु घुम्न जाने प्रस्ताव गरे । उनीहरुको प्रस्ताव राजिवले स्वीकार गरे ।

माघ ५ गते विहान साथीहरुसँग घुम्न श्रीअन्तु जाने भनेर प्रदेश १०१०१५ प ८०९७ नम्बरको मोटरसाइकल लिएर राजिव घरबाट निस्किए । बेलुका घरमा छोरा नदेखेपछि कमलले छोराको बारेमा परिवारलाई सोधे । परिवारले साथीसँग श्रीअन्तु घुम्न गएको बताए । भोलिपल्ट मात्र घर आउने भनेर निस्किएका राजिव ६ गते साँझपनि घर नफर्किएपछि परिवारका सदस्यले उनलाई फोन सम्पर्क गरे तर, उनको फोन अफ थियो । त्यसपछि बस्नेत परिवारले प्रहरीलाई सम्पर्क गर्यो । प्रहरीलाई जानकारी आउनासाथ बस्नेतको खोजि सुरु गरेको डीएसपी कुँवरले बताए । राजिव भने घरबाट निस्किएकै दिन अपहरणमा परिसकेका थिए ।     

अपहरणपछि नेपालमै लुकाए राजिवलाई

प्रविधिको प्रयोगमा निकै चलाखी अपनाएको अपहरणकारीले इन्टरनेट कलबाट राजिवसँग सम्पर्क गर्ने गरेका थिए । जसका कारण प्रहरीलाई ट्र्याकिङ गर्न निकै गाह्रो परेको थियो । नयाँ फोन र नयाँ सिमको प्रयोग भएका कारण अपहरणकारी पत्ता लगाउन नै प्रहरीलाई समय लाग्यो ।

प्रहरीले पत्ता लगाउन नसक्ने अनुमान लगाएका अपहरणकारीले स्कुटर लिएर भारतीय सिमाना पानीट्याङ्की पुगेपनि राजिवलाई भारत लगेनन् । उक्त स्कुटर प्रहरीले बरामद गरेको छ । अपहरणकारी आसपास प्रहरी आएको अनुमान नलगाएका कारणपनि राजिवलाई नेपालमै राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अपहरणमा ९ जनाको संलग्नता, एक जना पक्राउ

बस्नेतको अपहरणमा ६ जना नेपालीसहित ९ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । ६ जना नेपाली मध्ये प्रतिक्षा योङहाङसहित ३ जना युवती रहेको डीएसपी कुँवरले बताए । योङहाङलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई युवती भागेर भारतको मणिपुर पुगेको प्रहरीले जनाएको छ ।

अपहरणको मुख्य योजनाकार भण्डारीलाई पक्राउ गर्न प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ ।

प्रहरी कुशलताका कारण बिना फिरौती १० दिनपछि राजिवको उद्वार

अपहरणको ७२ घण्टा सम्मपनि राजिवको अवस्था पत्ता लाग्न नसकेपछि प्रहरी तनावमा रह्यो । अनुसन्धानबाट केहि क्लु पत्ता लगाएको प्रहरीले तीनवटा टोली बनाएर परिचालन गर्यो । घर विदामा रहेका डीएसपी कुँवर विदा छोट्याएर फर्किए । योङहाङ पक्राउ परेसँगै घटनाको थप जानकारी पाएको प्रहरीले अपहरणकारीको खोज तलासलाई तीब्र गतिमा अगाडी बढायो । प्रहरीले चौतर्फी घेरा हालेर आफु नजिक आइपुग्न लागेको सुइँको पाएसँगै अपहरणकारीले बिना फिरौती राजिवलाई १० दिनपछि बुट्टाबारी क्षेत्रमा ल्याएर छाडेका थिए ।

भण्डारीको समूहले राजिवलाई अपहरण गरेको २-३ दिनपछि उनको परिवारलाई ४० करोड फिरौती मागेको थियो ।

सुक्ष्म अनुसन्धानबाट संकलित प्रमाणको सहि विश्लेषण र एक्सनका कारण राजिवलाई सकुशल उद्वार गर्न सकिएको इप्रका अनारमनीका प्रमुख कुवँरको भनाई छ । अपहरणमा संलग्नहरुको खोजि तीब्र बनाउनुका साथै उनीहरु विरुद्ध प्रहरीले मुद्धा दर्ता गरि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

 

सम्बन्धित समाचार