२०८३ आश्विन १७ गते , शनिबार

३६ बर्षपछि विश्वकपको उपाधि अर्जेन्टिनालाई

sajilo news
परिवेश मिडिया
२०७९ पौष ४ गते , सोमबार
३६ बर्षपछि विश्वकपको उपाधि अर्जेन्टिनालाई

बिर्तामोड । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई स्तब्ध बनाउँदै अर्जेन्टिना विश्वकप २०२२ को उपाधि जित्न सफल बनेको हो ।

टाइब्रेकरमा ४–२ ले फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । अघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो ।

पहिलो हाफमा आक्रामक खेल खेलेको अर्जेन्टिनाको लागि २३औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा निरास खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ७९औं मिनेटसम्म कुर्नु र्पयो । ७९औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले आक्रामक खेल खेल्दै त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेललाई बराबरीमा पुर्याए ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट २–२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए ।

तर, फ्रान्सले ११८औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई  युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । उनले विश्वकप फाइनलमा ह्याट्रीक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन पाएन ।

टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे ।

त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे ।

तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके ।

अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे ।

२–१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे ।

अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३–१ मा र्पुयाए ।

फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए ।

यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

सम्बन्धित समाचार