२०८३ बैशाख ५ गते , शनिबार

उपेक्षित उष्णप्रदेशीय रोग, मातृशिशु स्वास्थ्य, अपाङ्गता र उपेक्षा बिषयक अन्तरक्रिया

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २४ गते , शनिबार
उपेक्षित उष्णप्रदेशीय रोग, मातृशिशु स्वास्थ्य, अपाङ्गता र उपेक्षा बिषयक अन्तरक्रिया

बिर्तामोड । उपेक्षित उष्णप्रदेशीय रोग, मातृशिशु स्वास्थ्य, अपाङ्गता र उपेक्षाका सम्बन्धमा मिडिया संवेदनशिलता बिषयक कार्यक्रम सम्पन्न भएको छ । फेयरमेड फाउण्डेशन र सहारा नेपालको सहकार्यमा सञ्चालित विश्वास परियोजनाले कार्यक्रम आयोजना गरेको हो ।

सहारा नेपालको केन्द्रीय कार्यालय चारपानेमा आयोजित कार्यक्रममा उपेक्षित उष्णप्रदेशीय रोगहरुको बिषयमा जानकारी दिइएको थियो । उपेक्षित उष्णप्रदेशीय रोग विशेषगरी गरिबीको रेखामुनी रहेका मानिसहरुमा बढी पाइएको र राज्यले समेत यस्ता रोग निदानका लागि धेरै चासो नदिएको विश्वास परियोजनाका संयोजक पवनकुमार राईले जानकारी दिए । झापा, मोरङ र सुनसरीमा सञ्चालित चार बर्षे विश्वास परियोजनाले सबै रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्याउने लक्ष्य लिइएको राईले बताए ।

विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा २० वटा रोगलाई उपेक्षित उष्णप्रदेशीय रोगको सूचीमा राखेको र ती मध्ये नेपालमा १० वटा रोगबाट मानिसहरु प्रभावित भइरहेको कार्यक्रम संयोजक राईले जानकारी दिए । कुष्ठरोग, हात्तीपाइले, जुका, लुतो, कालाजार, डेंगी लगायत रोगबाट नेपालीहरु अहिलेपनि पिडीत भएको तर सम्बन्धित निकायले यसलाई उपेक्षा गरिरहेको कार्यक्रममा बताइएको छ ।

कुष्ठरोग, हात्तीपाइले लगायत उपेक्षित उक्त रोगहरु सामान्य औषधीको सेवनबाट जाति हुने भएपनि रोगीहरुलाई समाजले अहिलेपनि हेलाको दृष्टिकोणले हेर्ने, समाजमा अन्धविश्वास कायम रहेको आदि कारण रोगीहरु खुल्न नसक्ने फेयरमेड फाउण्डेशनका अनुगमन विशेषज्ञ बेदप्रकाश शर्माले जानकारी दिए । समाजमा रहेको अन्धविश्वास हटाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने शर्माले धारणा व्यक्त गरे । सहि सूचना प्रदान गर्न, अन्धविश्वास हटाउन र जनचेतना जगाउन सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७७÷७८ मा नेपालमा २१७३ जना र झापामा १२२ जना नयाँ कुष्ठरोगी फेला परेको कार्यक्रम संयोजक राईले जानकारी दिए । औषधी सेवनमा मानिसहरुले खासै चासो नदिने गरेका कारण यस्ता रोगहरुको पूर्ण उन्मूलनमा समस्या भएको उनको भनाई छ ।

परियोजनाले उपेक्षित उष्णप्रदेशीय रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

फेयरमेडले करुणा फाउण्डेशन, सहारा नेपाल र सेभ द अर्थ सुनसरीसँग सहकार्य गरिरहेको छ ।

कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले विश्वास परियोजनाले सञ्चार क्षेत्रसँग सहकार्य गर्न सके कार्यक्रम प्रभावकारी कार्यान्वयन हुने सुझाव दिए ।

सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, सचिव महेन्द्रकुमार गिरी, कार्य समिति सदस्यहरु कृष्णकुमार गिरी, ध्यानबहादुर भारतीलगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार