शिव शक्तिलाई थप मझबुत बनाउने अध्यक्ष ढकालको प्रतिबद्धता
बिर्तामोड । झापाको बिर्तामोड-४ स्थित शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिबार बिर्तामोडमा साधारणसभा सम्पन्न गरेको हो ।
छ बर्षसम्म कागजी प्रकृयामा रहेको शिव शक्तिलाई संचालनको पहिलो बर्षमा सकारात्मक गतिमा अगाडी बढाउन सफल भएको साकोसका अध्यक्ष युवराज ढकालले बताए । उनले आगामी बर्ष संस्थालाई थप मझबुत बनाउने प्रतिबद्धतासमेत ब्यक्त गरे ।
एक बर्षकै अवधिमा संस्थाले चार सय शेयर सदस्यबाट ४० लाख पूँजी संकलन गरेको ढकालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी तथा मानव अधिकारकर्मी रुपक खनालले सहकारीका कारण कोरोना महामारी पछि राज्यले ठूलो आर्थिक संकट ब्यहोर्नु नपरेको बताए । चार खाता राख्न समेत नजानी शुरु भएको झापाको सहकारी इतिहास अहिले ठूलो फड्को मारिसकेको बताए ।
कार्यक्रमका अतिथि जनशक्ती साकोसका अध्यक्ष हिमालय कन्दङ्वाले विश्वले नै कोरोना महामारीपछि आर्थिक संकट ब्यहोरिरहेको र त्यसको असर नेपालका सहकारीहरुमा समेत परेको बताए । उनले शिव शक्ति साकोसको थप सफलताको कामना समेत गरे ।