चौतारी अध्यक्ष गणेश बस्नेतलगायतले अफबाह फैल्याएको घटनाप्रति प्रेस सेन्टरको ध्यानाकर्षण
बिर्तामोड । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा प्रविधिको दुरुपयोग गरी भ्रामक समाचार शेयर गरेर अफबाह फैल्याएको घटनाप्रति प्रेस सेन्टर नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नेकपा (एमाले) को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमालेसम्बद्ध केही पत्रकारहरुले स्थापित अनलाइन तथा पत्रिकाहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति प्रेस सेन्टरले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
शनिबार एक विज्ञप्ति जारी गरी प्रेस सेन्टर नेपालले पराजित मानसिकताको उपजका रुपमा बस्नेत लगायत उनको संगठनका सदस्यहरुले सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइन, लोकपाटी लगायतका स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो । यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो । त्यसैले यस्तो आपराधिक कार्य गरी पत्रकार र पत्रकारिताको मूल्यमान्यता र मर्यादामाथि आघात पु¥याउने प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेत लगायत यस कार्यमा संलग्न सबै पत्रकारहरुलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न सम्बन्धित संस्थासँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहित रुपमा मतदान गर्ने वातावरण बनाउनु पर्ने अवस्थामा एउटा पेशागत पत्रकार संगठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैल्याउनु निर्वाचन आचारसंहिताको घोर उलङ्घन भएको प्रेस सेन्टरले जनाएको छ । अध्यक्ष विष्णु सापकोटा ‘जुगल’द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘यस घटनालाई गम्भीर रुपमा लिई आवश्यक कार्बाहीका लागि कदम चाल्न प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगसमक्ष विनम्र अनुरोध गर्दछु । यस्ता गलत कुरामा विश्वास नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यमका पाठक, दर्शक, स्रोताहरुलाई हार्दिक अनुरोध गर्दछु ।’
पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको समेत ध्यानाकर्षण
स्थापित सञ्चारमाध्यममा प्रकाशन नै नभएको बिषय वस्तुलाई प्रविधिको दुरुपयोग गरी सञ्चारमाध्यमको लोगो प्रयोग गरी भ्रम फैल्याउनु, सोर्स कोड परिवर्तन गर्नु र सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्ता कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको गम्भीर उल्लंघन भएको महासंघद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
प्रेस काउन्सिल नेपालले समेत विज्ञप्ति मार्फत दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उसले यस्ता फेक न्यूजबाट सजग रहन सबैलाई आग्रहसमेत गरेको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत केहि मानिसहरुले स्थापित सञ्चारमाध्यमहरु माष्टहेड राखेर भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सो सम्बन्धमा सेतोपाटी, उज्यालो अनलाईन लगायत सञ्चारमाध्यमले त्यस्ता सामग्री आफुहरुले प्रकाशन प्रसारण नगरेको स्पष्ट पारिसकेका छन् ।