विराटमा प्रि टर्म बच्चाको उपचारसम्बन्धि सचेतना कार्यक्रम
बिराटनगर । बिराट नर्सिङ होम प्रा.लि.ले समय अगावै जन्मिएका (प्रि टर्म) बच्चाहरुको उपचार बिषयक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार प्रि टर्म बच्चासम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा अस्पतालले सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले समय नै नपुगी बच्चा जन्मनु आफैमा जोखिम भएको बताए । प्रकृतिले त्यस्ता बच्चाहरुलाई पनि यो संसार देख्न र केहि गर्नकै लागि जन्म दिएको बताउँदै त्यस्ता बच्चाहरुको शारीर परिपक्क नहुने हुँदा राम्रो स्वास्थ्य उपचार आवश्यक हुने कार्कीले बताए ।

समय अगावै जन्मिएको बच्चालाई राम्रोसँग उपचार गर्ने हो सजिलै बचाउन सकिने बिराट नर्सिङ होमका बालरोग विशेषज्ञ डा. दिपराज उपाध्याय अधिकारीले जानकारी दिए । अधिकारी प्रि टर्म बच्चासम्बन्धि सुपरस्पेसियालिष्ट डाक्टर हुन् । गएको १९ महिनाको अवधिमा विराट नर्सिङ होममा ३०० जना त्यस्ता बच्चाहरुको उपचार गरिएको उनले बताए । अस्पतालले ७०० ग्रामसम्मको बच्चाको सफलतापूर्वक उपचार गरेको उनको भनाई छ ।
अस्पतालमा प्रविधियुक्त लेभल फोर नवजात शिशु सघन उपचार कक्ष भएकाले त्यस्ता बच्चाहरुको उपचार सहज भएको डा. अधिकारी बताउँछन् । त्यसरी जन्मिएका सबै बच्चाहरुलाई भेण्टिलेटर आवश्यक नहुने उनको भनाई छ । भेण्टिलेटरको प्रयोगले कहिलेकाँहि बच्चाहरुको आँखा तथा कानमा समस्या आउनसक्ने भएकाले भरसक भेण्टिलेरको विकल्पमा अन्य उपचार विधीको मेहेनतका साथ प्रयोग गरिने उनले बताए । उनका अनुसार त्यस्ता बच्चाहरुको उपचारमा डाक्टर तथा नर्सिङ स्टाफहरुले अन्यन्तै सावधानीपूर्वक मेहेनत गर्नुपर्दछ । विराटमा त्यस्ता बच्चाहरुको उपचारमा बच्चाको अवस्था र अस्पताल बसाईको अवधिका आधारमा २ देखि ३ लाख रुपैँयासम्म खर्च हुनसक्ने अस्पतालले जनाएको छ ।
समय अगावै जन्मिएका बच्चाहरुको मृत्युदर २०–२५ प्रतिशत भएपनि बिराटमा भने ६ प्रतिशत मात्र रहेको डा. अधिकारीले बताए । उनले भने,‘समग्रमा हामी सेफ छौँ ।’
कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. ललित अग्रवाल, नर्सिङ्गहोमका डाइरेक्टर डा. शुसिल तपरिया, प्रशासन प्रमुख पदम बिनाडी लगायतले मन्तव्य राखेका थिए ।