ताप्लेजुङ मनि ट्रान्सफर डकैतीमा संलग्न झापाका २ सहित ४ जना पक्राउ
ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पोर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुनबहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पोर्तेल र सिदिङवा गाउँपालिका–५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन ।
गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैया समेत डाँका गरी भागेका थिए । घटनामा संलग्नलाई प्रहरीले खोजी गर्ने क्रममा संलग्न ३ जनालाई सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया र १ थान पेस्तोल सहित पक्राउ गरेको थियो । गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका पाँचथरको फालेलुङ–८ मा लुकिछिपी बसेको स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।