नेपालले हारेसँगै प्रशिक्षक थापाले दिए राजिनामा
बिर्तामोड । नेपाल महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग पराजित भएसँगै प्रशिक्षक थापाले राजिनामा दिएका हुन् । आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।
यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताए । थापा गत भदौ २१ मुख्य प्रशिक्षक पदमा नियुक्त भएका थिए ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । तर बंगलादेशले पुन गोल गर्दै ३–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।