आजबाट एमडिएमएस लागू हुँदै, अवैध भित्रिएका मोबाइल नचल्ने
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च गर्ने भएको छ । प्राधिकरणले नेपालमा अनधिकृत रूपमा वा गैरकानुनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण गर्न एमडिएमएस लागू गर्न लागेको हो ।
प्राधिकरणले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार सचिव वैकुण्ठ अर्याल, भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालय प्रतिनिधि लगायतको उपस्थितिमा एमडिएमएस सार्वजनिक गर्ने भएको हो । उक्त प्रणाली लागू भएपछि वैध रूपमा आयातित मोबाइल फोनहरूको मात्रै चल्छ ।
‘आजसम्म नेपालमा विविध तरिकाले भित्रिएका सबै फोनलाई हामीले ह्वाइट लिस्टमा राखिसकेका छौं । तर एमडिएमएस लागू भएपछि अवैध रूपमा भित्रिने फोनहरूलाई हामीले ब्लक नै गर्ने योजना छ,’ प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले त्यसरी अवैध रूपमा भित्रिएका फोनहरूलाई रजिस्टर गर्न एसएमएसमार्फत १५ दिनको समय दिनेछ । १५ दिन भित्र रजिस्टर नभएको खण्डमा भने त्यस्ता फोनलाई ब्लक गरिनेछ ।
एमडिएमएस लागू भएसँगै सरकारको राजस्वमा समेत वृद्धि हुनेछ । त्यस्तै अपराध नियन्त्रणमा समेत यसले मद्दत र्पुयाउने प्राधिकरणको विश्वास छ ।